बैतडीमा शिक्षामा लगानी बढ्दै, गुणस्तर घट्दै

छिनोफानो   आइतबार २६, साउन २०८२ ०७:००

बैतडी । बैतडीका १० वटा स्थानीय तहले शिक्षामा वार्षिक चार अर्ब रुपियाँभन्दा बढी खर्च गरिरहेका छन् तर विद्यार्थी सङ्ख्या र शैक्षिक गुणस्तर निरन्तर घट्दै गइरहेको छ ।  जिल्लामा १३३ वटा माध्यमिक विद्यालय, कक्षा १ देखि ८ सम्म आधारभूत तहको पढाइ हुने ४२९ विद्यालय, ४१७ बालविकास र १४ वटा क्याम्पस गरेर ७२३ वटा शैक्षिक संस्था छन् । बालविकासदेखि कक्षा १२ सम्म विद्यालयमा मात्रै ६५ हजार विद्यार्थी अध्ययनरत रहेको तथ्याङ्क भए पनि कक्षा १० सम्म मुस्किलले पाँच हजार विद्यार्थी पुग्ने गरेका छन् । तीमध्ये ५० प्रतिशत मात्रै उत्तीर्ण हुने गरेका छन् ।

शिक्षा विकास तथा समन्वय एकाइ बैतडीको तथ्याङ्क अनुसार हरेक वर्ष पाँच सयका दरले एसइई दिने विद्यार्थी घटिरहेका छन् । २०८० मा चार हजार ८७७ जना नियमित परीक्षार्थी रहेकोमा २०८१ मा घटेर चार हजार ३०७ जना नियमित परीक्षार्थी रहेका थिए । तीमध्ये ५० प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण हुने गरेका छन् । एसइईमा उत्तीर्ण भएकामध्ये अधिकांश विद्यार्थी पढाइका लागि बाहिरिने क्रम बढेपछि जिल्लामा भएका माध्यमिक विद्यालय र क्याम्पसमा मुस्किलले एक सय जना विद्यार्थी पुग्ने गरेका छन् ।

बैतडी सदरमुकाम गोठालापानीस्थित जगन्नाथ बुहमुखी क्याम्पसमा पछिल्ला वर्षमा ५० प्रतिशतभन्दा बढी विद्यार्थी घटेको क्याम्पस प्रमुख डा। सुरेन्द्र बमले बताउनुभयो । उनले भने, “२०७५ सालसम्म पाँच सय विद्यार्थी रहेकोमा अहिले करिब दुई सय विद्यार्थी भर्ना भएका छन् । नियमित अध्ययन गर्न आउनेको सङ्ख्या ५० प्रतिशत पनि छैन ।”

विद्यार्थी सङ्ख्या नभए पनि जिल्लाका १० वटा स्थानीय तहमा १४ वटा क्याम्पस रहेका छन् । जिल्ला सदरमुकाममा मात्रै जगन्नाथ बहुमुखी क्याम्पस र बैतडी शिक्षा क्याम्पस गरेर दुई वटा क्याम्पस रहेका छन् । क्याम्पस प्र्रमुख डा। बमका अनुसार जिल्लामा शैक्षिक संस्था बढ्दो क्रममा भए पनि विद्यार्थी सङ्ख्या र शैक्षिक गुणस्तर निरन्तर घट्दो क्रममा रहेको छ ।

राज्यले बैतडीका विद्यालयस्तरमा मात्रै वार्षिक चार अर्ब रुपियाँ खर्च गरे पनि सो आनुसारको शैक्षिक गुणस्तर कायम हुन नसक्दा कक्षा १० पछिको पढाइका लागि विद्यार्थी सहरतिर जाने क्रम बढेको छ । जिल्लामै उच्च शिक्षा हासिल गर्न सकिने १४ वटा क्याम्पस भए पनि अध्ययन गर्ने विद्यार्थी छैनन् ।  जिल्लामा १५ औँ क्याम्पसका रूपमा गत वर्ष शिवनाथ गाउँपालिकामा ग्रामप्रकाश नामको एउटा क्याम्पस थपिएको छ । पर्वत जिल्लामा सञ्चालन हुन नसकेको क्याम्पस बैतडीको शिवनाथ गाउँपालिकामा ल्याएर गत वर्षदेखि पठनपाठन सुरु भएको क्याम्पस प्रमुख महामल सिंह साउदले बताए ।

उनले भने, “क्याम्पसमा अहिले १५० जति विद्यार्थी छन् । भवन लगायत कुनै भौतिक संरचना नहुँदा स्थानीय नागार्जुन माविकै भवन प्रयोग गरेर पढाइ सञ्चालन गरेका छौँ ।” राज्यले बैतडीका शैक्षिक संस्थामा मनग्गे लगानी गरिरहेको भए पनि शैक्षिक गुणस्तर कायम गर्न नसक्दा विद्यार्थी बाहिरी जिल्ला जान बाध्य भएको क्याम्पस प्रमुख डा। बमले बताए । उहाँले ढिलो नगरेर जिल्लामा शैक्षिक बहस जरुरी भएको बताए । क्याम्पस पनि पाँच वटाभन्दा बढी नराख्ने र विद्यालय सङ्ख्या मर्ज गरेर आवासीय पठनपाठन सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु