प्रशासनको नियन्त्रणमा अझै आएन कैलाली कारागार

छिनोफानो   आइतबार २६, साउन २०८२ ०४:०५

धनगढी । शुक्रबार साँझदेखि कैदी बन्दीले नियन्त्रणमा लिएको कैलाली कारागार अझै प्रशासनको नियन्त्रणमा आउन सकेको छैन । कारागारमा शुक्रबार राति भएको झडपमा एक जनाको मृत्यु र ४९ जना घाइते भएपछि प्रशासनले अहिलेसम्म नियन्त्रणमा लिन नसकेको हो। 

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले अझै कारागार प्रशासन झडप भएपछि कारागारभित्र नगएको जानकारी दिए ।  ‘कारागारभित्र जाने सहमति हिजो भए पनि अहिलेसम्म हामी त्यहाँ पुगेका छैनौँ । बिहीबारको घटनापछि कैदीबन्दीहरूले थुनुवा कक्षमा भित्रबाट ताला लगाएका थिए । त्यो ताला अझै नखोलिएको स्रोतले बतायो । घटनापछि सुरक्षाकर्मी र कारागार प्रशासनका कोही पनि त्यहाँ छिरेको छैन । भित्रको सबै विषय कारागारभित्र छिरेपछि मात्रै थाहा हुने प्रमुख जिल्ला अधिकारी हमालले बताए । 

मानव अधिकार आयोगलाई गत साउन १४ गते ५९० जना कैदी बन्दीले ध्यानाकर्षण पत्र पठाएर आफूहरू असुरक्षित रहेको भन्दै सुरक्षा माग गरेपछि आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्थापन विभागलाई पत्राचार गर्दै उचित सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएको थियो । त्यो निर्देशनलाई गम्भीर रूपमा नलिँदा शुक्रबार हिंसात्मक घटना हुन पुगेको हो । 

शुक्रबार ब्लक ए मा रहेका कैदी बन्दीको समूहले भित्ता फुटाएर ब्लक बी मा रहेका कैदी बन्दीमाथि आक्रमण गरेपछि धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको थियो ।  घटनाबारे छानबिन गर्न कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा नेपाल प्रहरीका डीएसपी राजकुमार सिंह, सशस्त्र प्रहरीका डीएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य सचिव रहेको समिति बनेको छ ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु