काठमाण्डौ – ललितपुरका मल्ल राजा सिद्धिनरसिहंको पालादेखि हुँदै आएको ऐतिहासिक नृसिंह जात्रा सकिएको छ । हरेक वर्ष भदौ कृष्ण पञ्चमीका दिन पाटनमा सञ्चालन हुने नृसिंह जात्रा हिजो सकिएको हो ।
कुनै पनि दैवी प्रकोप नलागोस् र विश्वमै शान्ती कायम भइरहोस् भन्ने कामनाका साथ यो जात्रा मनाउने गरिन्छ ।
ललितपुरका ६ कुलका राजोपाध्याय समुदायले उमेरको वरिष्ठताको आधारमा पालैपालो सबै व्यवस्थापनको जिम्मा लिएर यो जात्रा सञ्चालन गर्ने गर्छन् । यसपाली गाबहालका मधुर शर्मा राजोपाध्यायको परिवारले जात्रा सञ्चालन गरेको हो ।
विष्णुको नृसिंह अवतारले दानव हिरण्यकशिपुलाई बध गरेको सम्झनामा बाजागाजा र भजनटोलीसहित ललितपुर शहर परिक्रमा गराइन्छ । नृसिंहतिर फर्केर हातमा धुप लिएर प्रणाम गर्दै प्रल्हादले उल्टो पाइला चाल्दै नगर परिक्रमा गर्ने गरिन्छ ।
नृसिंहको दायाँबायाँ लक्ष्मी र सरस्वती बस्ने चलन छ । यो यात्रामा ६ जोडी अप्सराको रुपमा बालिकाहरुको पनि सहभागीता रहने गर्छ ।
जात्रामा पालोवालाको पुरोहित अथवा ज्वाइँ अथवा भाञ्जा नृसिंह बनेर ललितपुरको प्राचीन नगरीको सायाः अर्थात सापारु रुटमा परिक्रमा गराउने चलन छ । यसपाली पालोवाल परिवारको पुरोहित रक्षण राजोपाध्याय नृसिंह बन्नु भएको थियो ।
जात्राको क्रममा बाजागाजा, प्रत्यक्ष भजनसहित देवगणको टोलीले पाटनको गाबहाल, पिम्बहाल, बङ्गलामुखी, कोबहाल, मङ्गलबजार, सुन्धारा, इकुबहाल, महाबौद्ध, टङ्गल, तिच्छु गल्ली, हौगल, इखालखु, पूर्णचण्डीलगायत विभिन्न ठाउँमा यात्रा गर्ने चलन छ ।
जात्राको परिक्रमा हुने विभिन्न ठाउँमा नृसिंहलगायत देवताहरूको ठाउँ–ठाउँमा विसर्जन गरी पूजा पाठ गर्नुका साथै बालबालिकाहरूलाई ढोगाउने गरिन्छ ।
ललितपुरमा कात्तिक नाचको एक र अर्को उपालकं सायाःका गरी दुई नृसिंह छन् भने कार्तिक नाचका नृसिंहलाई उग्र रूपको र उपालकं सायाःका नृसिंहलाई शान्त स्वभावका नृसिंहको रूपमा लिने गरिन्छ ।
नेपाल सम्बत ७५१ अर्थात विक्रम सम्वत १६८८ देखि नृसिंह जात्रा सञ्चालन भइरहेको लिखित दस्ताबेज छ । ललितपुरमा जस्तै काठमाण्डौको साँखुमा पनि हिजो नै नृसिंह जात्रा संचालन भएको थियो ।
प्रतिकृया दिनुहोस