शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्या बढ्दै

छिनोफानो   शुक्रबार ३१, साउन २०८२ ०९:५८

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्या तीन सय १० पुगेको छ ।

पुनःस्थापन गरिएको एक दशकमा कृष्णसारको सङ्ख्या निरन्तर बढ्दै गएर तीन सय १० पुगेको हो । निकुञ्जमा कृष्णसारका भाले एक सय १७, पोथी एक सय ४३ र पाठापाठी ५० रहेका छन् ।

यस्तै, वयस्क भाले ९३ र अर्धवयस्क भाले २४ छन् भने पोथीमा वयस्क ९९ र अर्धवयस्क ४४ छन् । निकुञ्जको हीरापुर फाँटमा ५८ दशमलव आठ हेक्टर क्षेत्रफलमा तारबार गरेर कृष्णसार संरक्षण गरिएको छ ।

निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार १३ वर्षअघि सात दशमलव पाँच हेक्टरमा मात्र तारबार गरिएकोमा विभिन्न समयमा थप्दै अहिले ५८ हेक्टर क्षेत्रफलसम्म विस्तार गरिएको छ । कृष्णसारको सङ्ख्या बढेसँगै व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको वाग्लेले जानकारी दिनुभएको छ ।

कृष्णसारलाई निकुञ्जकै अन्य फाँटमा प्राकृतिक रूपमा खुला छाड्ने वा अन्य सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्नेबारे अध्ययन भइरहेको उहाँले बताउनुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कृष्णसार संरक्षित वन्यजन्तुको सूचीमा पर्छ । एन्टिलोप प्रजातिको यो जनावर नेपालगञ्ज, काठमाण्डौ मृगस्थली, बर्दियाको खैरापुर र शुक्लाफाँटाको हीरापुर फाँटामा संरक्षित रहेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु