दार्चुला । दार्चुलामा लगातार परेको वर्षाले विभिन्न ठाउँमा विपत् निम्तिएको छ । वर्षापछि आएको बाढीका कारण कतै सडक भत्किएका छन् भने कतै पूरै परिवार विस्थापित भएका छन् । त्यसले पीडितको दैनिक जीवन अस्तव्यस्त बनेको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिका–८, सिमखेत (मट्यौला) का तोयराज जोशीले गत वैशाखमा बनाएको दुई तले चार कोठाको पक्की घर बिहीबार बिहानै भत्किएपछि उनको परिवारले छिमेकीको घरमा शरण लिएको छ ।
नयाँ घर बनाउँदा लागेको ऋण कसरी तिर्ने चिन्ता लागेको बेला घर नै भत्कियो, जोशीले दुखेसो पोख्दै भने, “भएभरको सम्पत्ति लगाएर बनाएको नयाँ घर भत्किएपछि अहिले परिवारसहित छिमेकीको घरमा बसेको छौँ ।” इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी सहायक निरीक्षक गोपाल द्वालका अनुसार जोशीको घरको भित्ता बर्खाका कारण कमजोर भएर भत्किएका छन् ।
लेकम गाउँपालिका–५, मैखोली बोया बस्नुहुने नवराज जोशीको घरमाथि खसेको पहिरोले विपत् निम्त्याएको छ । पहिरोले घर जोखिमपूर्ण भएपछि उनको परिवारले आफ्नो घर छाडेर छिमेकी देवीदत्त जोशीको घरमा शरण लिएर बस्नु परेको छ । गाईवस्तु पनि छिमेकीकै गोठमा राख्न बाध्य भएका छौँ, घरधनी नवराजले भने, “कति दिन यसरी बस्न सकिन्छ भन्ने चिन्ता छ । नयाँ दुई तलाको चार कोठे घर बस्न नमिल्ने गरी चर्किएको छ ।”
घर भत्किएका तथा विस्थापित भएका परिवार अहिले राहत र पुनर्निर्माणको आशामा छन् । तोयराज जोशीले भने, “अब सरकार र सहयोगी हातले सहयोग नगरे हाम्रो जीवन अघि बढाउन गाह्रो छ । छिट्टै राहत र सुरक्षित बासको व्यवस्था गरिदिन हामी आग्रह गर्द छौँ ।” दार्चुलाका ग्रामीण कच्ची सडक वर्षाका कारण ठाउँ ठाउँमा भत्किएपछि आवागमन ठप्प जस्तै भएको छ । स्थानीयले सडकमा यातायातका साधन बन्द हुँदा यात्रा गर्न समस्या भएको बताउँदै तत्काल सडक मर्मत गर्न माग गरेका छन् ।
प्रतिकृया दिनुहोस