अछामको साँफेबगर-मेल्लेख जोड्ने सडक स्तरोन्नतिको काम अलपत्र

छिनोफानो   आइतबार ०१, भदौ २०८२ १०:२७

अछाम । अछामको साँफेबगर–मेल्लेख जोड्ने सडक स्तरोन्नतिको काम अलपत्र परेको छ । सडक स्तरोन्नतिको ठेक्का पाएको कम्पनीका ठेकेदार सम्पर्कविहीन हुँदा सडक निर्माणको काम आठ महिनादेखि अलपत्र परेको हो । 

साँफेबगर नगरपालिकाको सिमानामा पर्ने दुई पालिका मेल्लेख–साँफेबगर जोड्ने मुख्य सडक निर्माणको काम अलपत्र हुँदा वर्षायामको बेला कच्ची सडकमा नागरिकले सास्ती भोग्नु परेको छ । हालसम्म पनि निर्माण कम्पनीले काम नगरी विभिन्न बहाना गरी ठेकेदार सम्पर्कविहीन हुने गरेका कारण यो क्षेत्रका नागरिक कच्ची बाटोमा यात्रा गर्न बाध्य छन् । यो विषयमा सम्बन्धित निकायले ध्यान दिन नसकेको स्थानीय हिरिन्डबहादुर कुँवरले बताए । उनले भने, “सडकमा नालीको व्यवस्थापन नहुँदा बर्सातमा आएको पानी स्थानीयका घरसम्म आउने गरेको छ । यसले गर्दा पाँच घर पहिरोको उच्च जोखिममा रहेको र बारम्बार यहाँका स्थानीयले सास्ती बेहोर्नु परेको छ ।”

 

सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको क्रमागत योजना अन्तर्गत साँफे–मेल्लेख सडक स्तरोन्नतिको काम ललितपुर इमाडोलको नाति कन्स्ट्रक्सन प्रालिले २०७९ सालदेखि सुरु गरेको थियो । “ठेकेदार लगानीका लागि पैसा छैन भन्दै पन्छिने गरेको छ,” धेरै पटक कार्यालयबाट ताकिता गरेको बताउँदै पूर्वाधार विकास कार्यालय अछामका सूचना अधिकारी इन्जिनियर देवीप्रसाद उपाध्यायले भने, “हामीले कायालयका तर्फबाट कुनै कमी गरेका छैनौँ । जसरी हुन्छ काम सुरु गर्नूस् भनेका छौँ ।”

इन्जिनियर उपाध्यायका अनुसार अधुरो कामका लागि २०८३ असार मसान्तसम्म करिब एक वर्ष म्याद थप गरेर एक करोड ५० लाख रुपियाँ आइसकेको छ । नपुग रकमका लागि रकमान्तर गरेर पनि काम गराउने प्रक्रिया चलिरहेको छ तर ठेकेदार विभिन्न बहानामा आलटाल गरी कार्यालयको सम्पर्कमा आएका छैनन् । नाति कन्स्ट्रक्सनले अहिलेसम्म ११ करोड १० लाख ४२ हजार ६२६ रुपियाँ भुक्तानी लिइसकेको छ । सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको क्रमागत योजना अन्र्तगत उक्त सडक स्तरोन्नतिको काम पूर्वाधार विकास कार्यालयमार्फत कार्यान्वयनमा छ । सडक स्तरोन्नति अन्तर्गत सडकको नाली निर्माण र ग्राभेल निर्माणको काम गरिने जनाइएको छ ।

ठेकेदारले बैङ्क जमानत, बिमाका लागिसमेत पैसा नभएको बताउँदै आएको कार्यालयको भनाइ छ । अहिलेसम्म केही नाली व्यवस्थापन र मेसिनरीको काम मात्रै भएको देखिन्छस जुन कामको ८३.६१ प्रतिशत हुन आउँछ । नाली र ह्युमपाइप नराख्दा वर्षायामको पानील निर्माणाधीन सडक पनि भत्किँदै गएको छ । नगरप्रमुख कुँवरले नाति कन्स्ट्रक्सनका सञ्चालक ज्ञानेश महर्जनले कार्यालयको फोनसमेत नउठाएको र योजना अलपत्र पारेका ठेकेदारले पटक पटक ताकिता गर्दा पनि अटेर गर्ने गरेको बताउनुभयो । नगरप्रमुख कुँवरले भने, “वर्षायाममा यस्ता निर्माणाधीन सडकले झनै जोखिम बढाएको छ ।” 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु