बाजुरा । साउन २८ गतेको भीषण बाढीपछि बाजुराको हिमाली गाउँपालिका–१ बिच्छ्या र वडा नं-५ कवाडीका बासिन्दा अझै पनि सुरक्षित घरबासको प्रतीक्षामा छन्। अविरल वर्षासँगै आएको बाढीले बिच्छ्यामा आठ घर बगाएको र नौ घर उच्च जोखिममा पारेको छ भने कवाडीमा १६ घर बगाएर ३२ घर पूर्णरूपमा क्षतिग्रस्त बनाएको छ।
घरबार गुमाएका स्थानीय अहिले त्रिपालमुनि आश्रय लिन बाध्य छन्। बिच्छ्याका सुवलाल थापा भन्छन्, “बाढीले घर मात्र होइन, खाद्यान्नसमेत बगायो। गाउँपालिकाले चामलको राहत दियो, तर बस्ने घर नहुँदा सबैभन्दा ठूलो समस्या छ।” उनले स्थानीय सरकारले घर पुनर्निर्माणमा पनि सहयोग पुर्याउनुपर्ने आवश्यकता औंल्याए।
यस आपदामा ज्यानको क्षति नभए पनि घर, जग्गा, पुल, सडक, विद्यालय र खानेपानीजस्ता भौतिक संरचना ठूलो संख्यामा ध्वस्त भएका छन्। गाउँपालिकाले राहत वितरण गरिसकेको र थप सहयोगका लागि प्रदेश तथा सङ्घीय सरकारसँग आग्रह गरिएको अध्यक्ष गोविन्दबहादुर मल्लले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय बाजुराका सूचना अधिकारी शीतलबहादुर रातलका अनुसार पीडितका लागि स्थायी घरबास व्यवस्थापन गर्न गृह मन्त्रालयमा पत्राचार भइसकेको छ।
प्रतिकृया दिनुहोस