प्यारा ताल संरक्षण अभियान : नागरिकदेखि राज्यसम्म ध्यानाकर्षण

छिनोफानो   शनिबार २१, भदौ २०८२ ०५:०४

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका-८ र ९ मा फैलिएको ‘प्यारा ताल’ प्राकृतिक सौन्दर्य र जैविक विविधताको दृष्टिले महत्वपूर्ण मानिन्छ। करिब ६ किलोमिटर लम्बाइ, ७० मिटर चौडाइ र १५ फिट गहिराइ रहेको यस सदावहार तालमा विश्वमै दुर्लभ मानिने जलचर प्राणी ओद, दक्षिण एसियामा दुर्लभ पहेंलोधुरे कछुवा, गोही, जलकपुरसहित ३५ प्रजातिका माछा पाइन्छन्।

तर राज्यको पहुँचभन्दा टाढा रहेका कारण यो ताल संरक्षणको दृष्टिले ओझेलमा परेको छ। यही सन्दर्भमा स्थानीय स्तरबाट २०८० असार २० गतेदेखि ‘प्यारा ताल पर्यटन प्रवर्द्धन तथा संरक्षण अभियान’ सुरु गरिएको हो। समितिका अध्यक्ष दिपेन्द्र बस्नेतका अनुसार प्रारम्भिक चरणमै नागरिकस्तरबाट आर्थिक सहयोग जुटाएर ताल क्षेत्रमा दुर्लभ जलचर र वन्यजन्तुहरूको प्रतिमा निर्माण, माटो फिलिङ र सभाहलको काम अघि बढाइएको छ।

गत आर्थिक वर्ष २०८१/८२ मा संघीय सरकारले रु ९० लाख विनियोजन गरेको थियो। पुनर्वास नगरपालिकामार्फत भएको टेन्डर प्रक्रियाअनुसार हाल ११० मिटर तटबन्ध निर्माणको काम सुरु भइसकेको छ, जसमा करिब ८५ मिटर पूरा भइसकेको समितिले जनाएको छ। बाँकी २५ मिटर कामसमेत सम्पन्न भएपछि तालको संरचनात्मक संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

ताललाई दीर्घकालीन रूपमा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ। स्थानीयको विश्वास छ-समयमै प्रचारप्रसार, संरचना निर्माण र राज्यको प्राथमिकता मिल्न सके प्यारा ताल सुदूरपश्चिमकै आकर्षक पर्यटन स्थल बन्न सक्नेछ। तर ढिलाइ भए संरक्षण र संवर्द्धनमा गम्भीर चुनौती आउन सक्ने चेतावनी पनि दिइएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु