कैलाली । माओवादी सशस्त्र द्वन्द्वमा ज्यानको बाजी लगाएर युद्धमा होमिएकी कालीकोटकी द्वन्द्वपीडित शैलाजा सार्की गोली लागेर घाइते भएपछि कहिल्यै उठ्न नसक्ने हुनुभयो । द्वन्द्वपीडित सार्कीले २० वर्षदेखि आफू ओछ्यानमै ढलिरहेको बताउनुभयो ।
१० वर्षको उमेरमै विसं २०५६ बाट माओवादी जनयुद्धमा लागेको बताउने शैलाजा २०६२ सालमा कालीकोटको पिलीमा भएको भिडन्तमा परेर घाइते हुनुभएको हो । उहाँलाई गोली लागेपछि उठबस तथा हिँडडुल गर्न समस्या भएको हो । जाङमा लागेको गोली निकाले पनि गोली लागेको घाउ अहिलेसम्म निको हुन सकेन । घुँडा र हातको सहाराले घिसे्रर भित्रबाहिर गरे पनि बस्न र हिँडडुल गर्न नसक्ने शैलाजाले बताउनुभयो । उहाँले तत्कालीन अवस्थामा समयमै राम्रो उपचार नपाउँदा आफू यो अवस्थामा पुगेको गुनासो गर्दै भन्नुभयो, “बमको छर्राले खुट्टाको औँला गयो । पछाडि हिपमा गोली लागेको थियो । गोली निकाले पनि तत्काल उपचार हुन नपाउँदा घाउ बल्झिएर धेरै दुःख पाएँ । कोहलपुर, काठमाडौँ हुँदै भारतसम्म उपचार गराए पनि घाउ निको भएन । हिजोआज भतभती पोलेर निकै गाह्रो भएको छ ।”
सानैमा बुवाआमा गुमाएकी शैलजा समाजमा आफूले भोगेको विभेद अन्त्य र सुखको सपना देखेर जनयुद्धमा लागेको बताउनुहुन्छ । जनयुद्धकै सयममा उहाँको विवाह भएर एउटा छोरा पनि जन्मियो । मार्ने र मर्ने सङ्कल्प लिएर जनयुद्धमा अग्रपङ्क्तिमा लडाकुको भूमिका निर्वाह गर्दागर्दै गोली लागेपछि आफ्नो जीवन नरक बनेको उहाँले रुँदै सुनाउनुभयोे ।
कैलालीको तालबन्द ब्यारेकमा श्रीमान्सँगै पुगेकी शैलजा आफू घाइते भएपछि श्रीमान्ले अर्को विवाह गरेर सम्पर्कविहीन बनेको बताउनुभयो । हाल उहाँ २०६८ मा आफन्तको सहयोगमा कैलालीको साँडेपानीमा एक कट्ठा ऐलानी जग्गामा बस्दै आउनुभएको छ । हिँडडुल गर्न नमिल्ने, रातदिन ओछ्यानमा पल्टिरहनुपर्ने बाध्यता छ । सात वर्ष जति पार्टीसँग पनि सम्पर्कविहीन बनेकी शैलाजाले आफ्ना बारेमा थाहा पाएपछि माओवादीका स्थानीय नेताले सानो घर बनाइदिएको बताउनुभयो ।
“पहिला कसैले वास्ता गरेनन्, हिजोआज आश्वासन दिने गरेका छन् । पहिले मरिसक्थेँ होला, एउटा छोरो छ । त्यसैका लागि बाँचेकी छु । छोरो पनि गतिलो भएन, सङ्गत राम्रो नभएर पढ्न छोडेर भारततिर बरालिएको छ,” उहाँले दुखेसो गर्नुभयो ।
शैलाजाको हेरविचार गर्ने पनि कोही छैन । भाइको छोरीले हेरविचार गर्ने गरेको उहाँ बताउनुहुन्छ । व्यवस्था परिवर्तनका लागि गरिएको जनयुद्धमा घाइतेको सूचीमा आफ्नो नाम नहुँदा शैलाजालाई सबैभन्दा ठुलो दुःख लागेको छ । उहाँ भन्नुहुन्छ, “जनयुद्धमा घाइतेको नाम सङ्कलन हुँदा म भारतमा उपचाररत थिएँ । पार्टीले नाम लेखाउनुपर्ने थियो, पार्टीले पनि मलाई मरी भन्ने सोचेछ । दुई चोटिकै सूचीमा मेरो नाम छुटेकोमा धेरै दुःख लागेको छ ।”
सरकारले जनयुद्धका घाइतेलाई दिने सुविधा आफूले नपाएको बताउने शैलाजा हिजोआज झनै थलिँदै गएको बताउनुहुन्छ । ३५ वर्षीय शैलजाले भन्नुभयो, “कतै क्यान्सर पो भयो कि, गोली लागेको घाउ कहिलै निको भएन । हिजोआज झन् पिप बग्न थालेको छ । गएको हप्ता यतैको अस्पतालमा गएकी थिएँ । दुखाइ कम गर्ने औषधी मात्रै दिएर पठाए । उपचार खर्च पाए एक पटक क्यान्सर अस्पताल जाने थिएँ ।”
प्रतिकृया दिनुहोस