खलङ्गा । हिमाली जिल्ला दार्चुलाको व्यास गाउँपालिका–१, छाङरुगाउँमा सौर्य ऊर्जामार्फत विद्युत्को आपूर्ति सुरु गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको सहयोग र स्थानीय उपभोक्ताको जनश्रमदानमा निर्माण गरिएको ५३ किलोवाट क्षमताको सौर्य मिनी ग्रिड सञ्चालन गरिएको वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका सिनियर इन्जिनियर अमानुवलहक अन्सारीले जानकारी दिनुभयो ।
जिल्लाको अति दुर्गम मानिने गाउँ छाङरुमा लघुजलविद्युत्मार्फत विद्युत् सेवा सञ्चालनमा ल्याउने प्रयास भए पनि हिउँदमा हुने बाक्लो हिमपात, बाढी र पहिरोका कारण पटक पटक जलविद्युत् संरचनामा क्षति पुग्दा सेवा नियमित हुन सकेको थिएन । यहाँका स्थानीयको सहजताका लागि नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रसँगको सहकार्यमा सौर्य मिनी ग्रिड सञ्चालनमा ल्याइएको व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो ।
वडाध्यक्ष बोहोराका अनुसार सौर्य मिनी ग्रिड सञ्चालनमा आएपछि स्थानीय उपभोक्ताले दैनिक केही घण्टाबाहेक नियमित रूपमा विद्युत् प्रयोग गर्न पाउनुभएको छ ।
यसअघि सञ्चालनमा रहेको गरिबी निवारण कोषको ४० प्रतिशत अनुदान र उपभोक्ताको ६० प्रतिशत स्वलगानीमा निर्माण गरिएको जलविद्युत् दीर्घकालीन रूपमा सञ्चालन हुन नसकेपछि मिनी सौर्य ग्रिड सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको चार करोड १३ लाख ३३ हजार १०२ रुपियाँ लगानी तथा स्थानीयको १० प्रतिशत श्रमदानमा मिनी ग्रिड सञ्चालनमा आएको उहाँले बताउनुभयो । सौर्य मिनी ग्रिडबाट छाङरुका १२२ घरधुरी, तीन व्यावसायिक फर्म र चार वटा सरकारी कार्यालयमा विद्युत् सेवा पुगेको छ ।
चिसो मौसमका कारण ब्याट्री रेस्टका लागि राति ९ बजेदेखि राति २ बजेसम्म विद्युत् आपूर्ति बन्द गर्ने गरिएको उहाँले बताउनुभयो । मिनी ग्रिडबाट उत्पादित विद्युत् वितरणका लागि १.११३ किलोमिटर थ्री फेज र ४३२ मिटर सिङ्गल फेज प्रसारण लाइन निर्माण गरिएको केन्द्रका सिनियर इन्जिनियर अन्सारीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस