काठमाडौँ — अन्तर्देशीय संगठित गिरोहले भित्र्याएको तस्करीको सुन काठमाडौं उपत्यकाभित्र र बाहिरका सुनचाँदी पसलमार्फत व्यवस्थापन भएको खुलिसक्दा पनि अनुसन्धानको जिम्मेवारी पाएको सीआईबीले बृहत् अनुसन्धान अघि बढाएको छैन । विद्युतीय चुरोट (भेप) र ब्रेक सुजस्ता उपकरणमा लुकाएर गत वर्ष ल्याइएको सुनसमेत नेपालकै सुनचाँदी पसलले किनेर सर्वसाधारणलाई बेचेको प्रहरी अनुसन्धानबाटै खुलेको थियो ।
पक्राउ परेका व्यक्तिहरूले तस्करीको सुन अरू पसलमा पनि व्यवस्थापन गरिएको बताएका थिए । तिनीहरूमाथि अनुसन्धान नगरी सीआईबीका तत्कालीन प्रमुख श्याम ज्ञवालीले प्रतिवेदन बुझाएका थिए ।
आर्थिक वर्ष २०७९/८० मा मात्रै चिनियाँ तस्करले भेप, ब्रेक सु र विद्युतीय उपकरणलगायतमा लुकाएर करिब ३५ क्विन्टल सुन भित्र्याएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानबाट खुलेको थियो । यसरी भित्रिएको सुनको भारत निकासी हुन्छ भन्ने भ्रम छ, तर भन्सार छलेर ल्याइएको सुन नेपाली सर्वसाधारणलाई समेत बेचिएको बयान पक्राउ परेका व्यक्तिहरूले नै दिएका छन् ।
अवैध सुन व्यवस्थापनमा लक्की ज्वेलर्स, महाकाली ज्वेलर्स, पशुपति ज्वेलर्स, मुक्तिनाथ सुनचाँदी पसल, जय सन्तोषी माँ सुनचाँदी ज्वेलर्सको नाम खुलेको छ । त्यस्तै जागेश्वरी ज्वेलर्स, श्रीराम गुल्मेली सुनचाँदी पसल, आशापुरी ज्वेलरी, त्रिशक्ति क्रिएसन, गढीमाई ज्वेलर्स, शिवम् ज्वेलर्स, गजानन ज्वेलर्स र हरेराम हरे कृष्ण सुनचाँदी पसलका सञ्चालक तथा कर्मचारी पनि तस्करीका सुन जानाजान खरिदमा संलग्न भएको सीआईबीकै अनुसन्धानमा पाइएको थियो ।
भेप र ब्रेक सुलगायतमा लुकाएर गरिएको सुन तस्करीबारे जाँचबुझ गर्न २०८० असोजमा सरकारले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा आयोग गठन गरेको थियो । जाँचबुझका क्रममा व्यक्तिलाई पक्राउ नै गर्नसम्मको अधिकार आयोगलाई थियो । तर सुन पसलबाट भएका गैरकानुनी कारोबारमाथि जाँचबुझ नगरी आयोगले त्यसअघि सीआईबीले गरेको अनुसन्धान प्रतिवेदन वरिपरि मात्रै अलमलियो । त्यसैले तस्करीबाट आएको सुन कहाँ गयो भन्ने खुट्याउन आयोग पनि असफल भयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर बाहिर निकालिएको ६१ किलो सुन राजस्व अनुसन्धान विभागले २०८० साउन २ मा सिनामंगलबाट बरामद गरेको थियो । त्यसमाथि सीआईबीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २०८० भदौ ३१ मा २९ जनाविरुद्ध ३ अर्ब ५० करोड २ लाख बिगो मागदाबी गरेर जिल्ला अदालतमा मुद्दा चलाएको थियो । सुन तस्करीको अनुसन्धानका क्रममा आरोपित जीवन चलाउनेसहितलाई पक्राउ नगरेको भन्दै जाँचबुझ आयोगले प्रतिवेदनमा उल्लेख गरेपछि गत चैत पहिलो साता सरकारले सीआईबी प्रमुख किरण बज्राचार्यसहित अनुसन्धान अधिकृतहरू प्रहरी प्रधान कार्यालय सारिएको थियो भने श्यामलाल ज्ञवाली सीआईबी प्रमुख बनाइएका थिए ।
आयोगको सिफारिसअनुसार थप अनुसन्धान गर्ने क्रममा पनि पहिले छुटाइएका भनिएका व्यक्तिहरू पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन, अध्यागमनका तत्कालीन महानिर्देशक झलकराम अधिकारी, पूर्वउपराष्ट्रपतिका परराष्ट्रविज्ञ जीवन गुरुङमाथि सोधपुछसमेत भएन । अझ फरार रहेका जीवन चलाउनेले त आफूसँग ज्ञवालीले पहिले नै पैसा मागेको भन्दै सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता पनि दिए ।
२०७९ देखि २०८० असारसम्म भएको दोस्रो चरणको अनुसन्धानअनुसार गत असार १७ मा अदालतमा मुद्दा दायर गरिएको छ । दोस्रो चरणको अनुसन्धानमै पक्राउ परेका भारतीय नागरिक सिद्धार्थ भन्ने सिद्धनाथ अशोक गायकवाडका साथै राजु खत्री, सुरेन्द्रमान श्रेष्ठ, प्रशान्त गणेश बजबलकर, धीरज दिनेश भोइटेलगायतले चिनियाँ गिरोहले भन्सार छलेर ल्याउने सुन नेपाली सुन पसलले किन्ने गरेको बयान दिएका हुन् । हाल थुनामा रहेका खत्रीले दिएको बयानअनुसार उनले काम गर्ने सिलसिलामा चिनजान भएका नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष शिवकुमार सर्राफले पनि अवैध सुन खरिद गर्थे । ‘मैले डेढ वर्षअघि सर्राफलाई एक किलो सुन दिएको हुँ,’ खत्रीले बयानमा भनेका छन् । खत्री आशापुरी ज्वेलरी र सर्राफ हरेराम कृष्ण ज्वेलरीका सञ्चालक हुन् ।
यस्तै, गायकवाडले काठमाडौंमा सुन व्यवसाय गर्ने पिन्टु भन्ने अभिजित तानाजीमार्फत आफू कारोबारमा संलग्न भएको बयान दिएका थिए । तानाजी भारतको महाराष्ट्रका नागरिक हुन् । उनी गायकवाडका भिनाजु पर्छन् । उनले न्युरोडका व्यापारीसँग मिलेर अवैध सुन कारोबार गर्ने गरेको खुलेको छ ।
जागेश्वरी ज्वेलर्सका नामबाट तानाजीले सुन ‘रिफाइनरी’ पसल सञ्चालन गर्दै आएका थिए । ‘भिनाजुले भनेबमोजिमका मानिसबाट बिनाबिलको सुन लिने, भनेबमोजिमका मानिसलाई सुन दिने र उसलाई रकम दिनेसमेत काम गर्थें,’ गायकवाडले बयानमा भनेका छन्, ‘म नेपालमा आएदेखि नै भिनाजुले बिनाबिलको सुन खरिद/बिक्री गर्नुहुन्थ्यो । भिनाजुले १ वर्षअघिबाट पैसाको झोला दिई न्युरोड एरियामा जाऊ, यस्तो हुलियाको मानिस आउँछ, निजलाई पैसा दिई आऊ भनी पठाउने गर्नुहुन्थ्यो । मैले उहाँले भनेबमोजिमका मानिसलाई पैसा दिने गर्थें ।’
६१ किलो सुनको अनुसन्धान अघि बढेपछि तानाजी पसल बन्द गरेर भागेका थिए । गायकवाडको बयानअनुसार छापावाला सुनभन्दा पनि गालेर/पगालेर बिस्कुट आकार दिइएको अवैध सुनको कारोबार तानाजीले गर्थे । यो भनेको तस्करीको सुन हो । गायकवाडले दिन बिराएर कहिले १ किलो, कहिले २ किलो सुन न्युरोड एरियाबाट लिने गरेको र यो अवधिमा ५० किलो सुन रिसिभ गरेको बयानमै उल्लेख गरेका छन् ।
भारतीय नागरिक अशोक गायकवाड र अभिजित तानाजीकै सेटिङमा तस्करीको सुन किनेर ‘रिफाइनरी’ पसलबाट नक्कली बिल बनाई बिक्री गर्नेमा लक्की ज्वेलर्स मुछिएको छ । महाकाली ज्वेलर्स पनि तस्करीको सुन खरिद गरी अभिजित तानाजीमार्फत ‘रिफाइनरी’ गर्ने कार्यमा जोडिएको पाइएको छ । पशुपति ज्वेलर्समा पनि अभिजित तानाजीको सेटिङमा कारोबार हुने गरेको अनुसन्धानमा खुलेको छ ।
मुक्तिनाथ सुनचाँदी पसलका सञ्चालक मनोराज श्रेष्ठमाथि भने अशोक गायकवाड र धीरज दिनेश भोइटेसँग मिलेर तस्करीको सुन कारोबार गरेको आरोप छ । जय सन्तोषी माँ सुनचाँदी ज्वेलर्सले तस्करीको सुन किनेर बेच्ने कार्यमा संलग्न देखिएको छ । श्रीराम गुल्मेली सुनचाँदी पसलले तस्करीको सुन खरिद गरी बुटवलमा नक्कली बिल बनाई कारोबार गरेको पाइएको छ । शक्ति क्रिएसन र गढीमाई ज्वेलर्सले तस्करीको सुन खरिद गर्नुका साथै नक्कली बिलबाट कारोबार गरेको भेटिएको छ ।
हरेराम हरे कृष्ण सुनचाँदी पसलका सञ्चालक शिवकुमार सर्राफ हुन्, जसले तस्करीको सुन कारोबार गरेको खुलेपछि पसल गरी अर्कै नाममा सुन कारोबार गरेको पाइएको छ । गढीमाई ज्वेलर्सले शिवकुमार सर्राफमार्फत कारोबार गर्दै आएको थियो । शिवम् ज्वेलर्स चिनियाँ गिरोहबाट तस्करीको सुन खरिद र नक्कली बिलबाट कारोबारमा मुछिएको छ । यस्तै, गजानन ज्वेलर्सका सञ्चालक प्रशान्त गणेश बजबलकरले तोकिएका मानिसमार्फत सुनको अवै कारोबार गरेको देखिएको छ । यसबीचमा केही व्यवसायी र सुनचाँदी पसलका कर्मचारी पक्राउ परे, कोही फरार छन् ।
प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले सुन तस्करीसम्बन्धी सीआईबीको पछिल्लो अनुसन्धानमा जेजति खुलेका तथ्य–प्रमाणका आधारमा विभिन्न व्यक्तिलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको र यसको अनुसन्धान गर्ने बाटो अझै खुलै रहेको बताए । ‘सीआईबीले सुन तस्करीसम्बन्धी पहिलो र दोस्रो चरणको अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको हो, त्यसकै आधारमा मुद्दा अदालतमा गइसकेको छ,’ उनले कान्तिपुरसँग भने, ‘यी मुद्दाका सम्बन्धमा थप प्रमाण फेला परेमा कानुनबमोजिम अनुसन्धान गर्ने बाटो अझै खुलै छ । प्रहरीले यसमा काम गरिरहेकै छ ।’
देशभर सुनचाँदी पसलको संख्या करिब २२ हजार रहेको बताइन्छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्यका अनुसार महासंघमा दर्ता भएका करिब १० हजार, रत्न तथा आभूषण महासंघअन्तर्गत करिब ४ हजार र दुवैमा दर्ता नभएका करिब ८ हजार सुनचाँदी व्यवसाय सञ्चालनमा छन् । शाक्यका अनुसार काठमाडौं जिल्लामा मात्रै करिब २ हजार ५ सय सुनचाँदी पसल छन् । त्यसमध्ये ७ सय काठमाडौं सुनचाँदी व्यवसायी संघअन्तर्गत, काठमाडौं रत्न आभूषण संघअन्तर्गत ४ सय र बाँकी अन्य संघसंगठनमा आबद्ध पसल छन् ।
महासंघले गैरकानुनी सुन कारोबार नगर्न व्यवसायीहरूलाई पटक–पटक परिपत्र गरेको शाक्यले बताए । ‘महासंघले वैधानिक सुन मात्रै किन्न व्यवसायीहरूलाई पटक–पटक परिपत्र गरेको छ, तर व्यक्तिले गर्ने कारोबारमा हामीले हस्तक्षेप गर्न सक्तैनौं,’ उनले भने, ‘खासगरी चाडपर्व र विवाहलगायतको सिजनमा माग उच्च हुन्छ । त्यसबेला सरकारले तोकेको कोटाले माग धान्दैन,’ उनले भने, ‘अनि कतिपय व्यवसायीले ग्राहकको माग पूरा गर्न अवैध सुनको पनि कारोबार गरेको देखिन्छ ।’
नेपालमा वाणिज्य बैंकहरूले मात्रै सुन आयात गर्न पाउँछन् । तोकिएका बैंकले पनि दिनमा २० केजीसम्म सुन आयात गर्न पाउँछन् । त्यही सुन मात्र व्यवसायीले खरिद गर्न मिल्छ । अत्यधिक रूपमा सुन आयात हुन थालेपछि २०६७/६८ तिर सरकारसँग समन्वय गरेर कोटा प्रणाली लागू गरिएको हो । सुरुमा १० किलो, १५ किलो हुँदै आयातको कोटा बढाइएको हो । नेपाल बैंकर संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा मागअनुसार नै व्यवसायीहरूले सुन पाउने गरेको र बैंकमा अझै २ सय किलोभन्दा बढी सुन रहेको बताउँछन् । भण्डारणमा रहेको सुन बिक्री नभएर कोटाको सुन नै आयात गर्न रोकिएको उनले बताए । ‘व्यवसायीले सुन पाइएन भनेको सुनिन्छ, जुन गलत हो । बैंकमा स्टक रहेको सुन बिक्री भएकै छैन,’ शर्माले भने, ‘स्टकको सुन बिक्री भएपछि आयात गरिन्छ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता रामु पौडेल सुन तस्करीसँग अपराधका अरू विषय पनि जोडिएर आउने बताउँछन् । ‘पछिल्लो समय नेपाल प्रहरीले गरेको अनुसन्धानमा त क्रिप्टोलगायत अवैध कारोबारमा पनि सुन तस्करी जोडिएको छ । यसलाई नियन्त्रण गर्न राज्यका विभिन्न निकायबीच सूचना आदानप्रदान, समन्वय, सहकार्य गरेर अघि बढ्नुको विकल्प छैन,’ प्रवक्ता पौडेलले भने, ‘वैध सुन वा तस्करीबाट भित्रिएको सुन खपत/कारोबारका विषयमा अनुसन्धान गर्ने निकायले हेरिरहेकै होलान् । हामीले पनि यसमा सहयोग गर्दै आएका छौं । मूलतः सुन आयात हुन्छ भने खपतको स्थिति केकस्तो छ, त्यो हेरिनुपर्छ । आयात र खपतको तालमेल मिलेको छैन भने त्यसमाथि सूक्ष्म रूपमा अनुसन्धान हुनुपर्छ ।’
सुन तस्करी नियन्त्रणका लागि हवाई र स्थलका अन्तर्राष्ट्रिय नाकामा नियमन–अनुगमन अझ प्रभावकारी बनाउनुपर्ने पौडेलले बताए । ‘अन्तर्राष्ट्रिय आवागमन नियमन र मालबस्तुको जाँचमा प्रविधियुक्त प्रणाली प्रयोग गर्नुपर्छ,’ उनले थपे ।
कान्तीपुरबाट साभार
प्रतिकृया दिनुहोस