अछाम । सम्भावित हुलदङ्गा तथा अप्रत्याशित गतिविधि नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय अछामले अनिश्चितकालिन निषेधाज्ञा जारी राखेको छ । देशभर सिर्जना भएको असहज परिस्थितिबाट उत्पन्न हुनसक्ने असहजतालाई नियन्त्रण गरेर शान्ति सुरक्षा कायम गर्न निषेधज्ञालाई अनिश्चितकालिन बनाएको प्रशासनले जनाएको छ।
दश वटै स्थानीय तहका केन्द्र र वडा, बजारमा मुख्य बजार क्षेत्र र सरकारी कार्यालयमा अर्को आदेश नभएसम्म बैठक, अनसन, भेला, धर्ना, घेराउ, जुलुस, प्रर्दशन, सभा, सम्मेलन गर्न-गराउन निषेध गरिएको हो । सदरमुकाम मंगलसेन सहित मुख्य र सहायक बजार तथा सरकारी कार्यालयदेखि पाँच किलोमिटर भित्र, ९१ वटै वडा केन्द्रदेखि दुई किलोमिटर भित्र गतिविधिमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी आनन्द सारुले जानकारी दिनुभयो ।
साधारण नागरिकलाई अत्यावश्यक सेवाका लागि बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्र आवतजावत गर्न अनुमति दिइने छ । प्रजिअ सारुद्धारा जारी गरिएको सूचनामा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म निषेधज्ञा जारी रहने छ । निषेधाज्ञा आदेशको उल्लङ्घन गर्नेहरूमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत सूचनामा उल्लेख गरिएको छ ।
निषेधित क्षेत्रमा प्रवेश गर्ने नाकाहरूमा सुरक्षाकर्मीले सोधपुछ, चेकजाँच गरी निषेधाज्ञा पालना गराउने र कानुन अनुसार कारबाही गर्ने प्रशासनले जनाएको छ । विभिन्न बजार क्षेत्र र नाकाहरुमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटाइएको छ । जिल्ला सुरक्षा समितिको मिति २०८२ भदौ २७ को बैठक निर्णय र नेपाली सेनाको हालैको विज्ञप्ति अनुसार निषेधाज्ञा लागू गरिएको बताइएको छ ।
प्रतिकृया दिनुहोस