कैलालीको बर्दगोरिया गाउँपालिकाले आफै गौशाला व्यवस्थापन गर्ने

छिनोफानो   बुधबार ११, चैत २०८२ ०७:२२

धनगढी : कैलालीको बर्दगोरिया गाउँपालिकाले छाडा पशुचौपायाको दिगो व्यवस्थापन तथा गौशाला सुदृढीकरण गर्ने भएको छ। पर्याप्त खाना र व्यवस्थापन अभावले गौशालामा रहेका गाईको नाजुक अवस्था झल्काउने भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पालिकाले व्यवस्थापनमा चासो दिएको हो।

गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले सडकमा हुने दुर्घटना न्यूनीकरण र किसानको बालीनाली जोगाउन गाउँपालिकाले वार्षिक १० लाख रुपियाँ बजेट विनियोजन गरेर छाडा चौपाया व्यवस्थापन गर्दै आएको भए पनि गौशाला सञ्चालक समितिबाट उचित व्यवस्थापन हुन नसकेपछि पालिकाले आफैँले व्यवस्थापन लागेको बताए।

गाउँपालिकाले प्रदेश सरकारसँगको समन्वयमा गौशालामा तीन वटा ठुला आधुनिक ट्रस, गाईले सहज रूपमा घाँस खानका लागि डुँडहरू निर्माण, मूत्र सङ्कलन र मल भण्डारण कक्ष जस्ता आधुनिक पूर्वाधार निर्माण गरिसकेको छ। खानेपानीका लागि बोरिङ जडान र सुरक्षित घेराबार निर्माण गरिएको छ।

पूर्वाधार सम्पन्न भए तापनि गौशाला व्यवस्थापन समितिको कार्यशैलीमा देखिएको केही कमजोरी र नियमित अनुगमनमा भएको कमीले गर्दा पशुको संरक्षण र स्याहारसुसारमा केही व्यावहारिक जटिलता उत्पन्न भएको अध्यक्ष कुवँरले स्वीकार गरेका छन्। उनले गौशालाकै प्रयोजनका लागि छुट्टै ट्याक्टर, ट्रली र हैरोको व्यवस्था, समयमै आहार सङ्कलनको व्यवस्था, पशु चिकित्सकद्वारा नियमित स्वास्थ्य परीक्षण, गौशालाको हाताभित्रै उन्नत जातको घाँस खेती गरी वर्षभरि पर्याप्त आहारको सुनिश्चितता गरिने बताए।

गौशाला व्यवस्थापनका लागि गाउँपालिकाले आवश्यक बजेट र जनशक्ति व्यवस्थापन गर्ने भएको छ। साथै आफ्ना पशुलाई बेवारिसे रूपमा सडकमा छाड्ने किसानलाई पहिचान गरी दण्डित गर्ने कडा नीति ल्याउने पनि बताएको छ । हाल गौशालामा २४० गाई रहेका छन्। तिनको रेखदेखमा छ जना कार्यरत छन्। तीमध्ये चार कर्मचारीले गाईलाई जङ्गलमा चराउन लैजाने गर्छन् भने दुई जनाले गोठ सफा गर्ने र अन्य व्यवस्थापनको काम गर्छन्। गाउँपालिकाले गौशालाका लागि वार्षिक १० लाख रुपियाँ बजेट विनियोजन गरेको भए पनि सो रकम कर्मचारीको तलबमै धेरै खर्च हुने हुँदा गाईको दानापानी व्यवस्थापनमा अपुग भएको गौशाला व्यवस्थापन समितिका अध्यक्ष देव चौधरीले बताए। गौशालाको नाजुक अवस्थाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि समाजसेवी भीम उपाध्यायको पहलमा आर्थिक सहयोग जुटाई अहिले पोसिलो घाँस, पराललगायत खानेपानी भकारो सुधारमा सहयोग प्राप्त भएको छ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु