स्थानीय प्रशासनसँग समन्वय गरी गाडी चलाउन महासङ्घको आग्रह

छिनोफानो   शनिबार २८, भदौ २०८२ १२:३९

काठमाण्डौ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले स्थानीय प्रशासनसँग समन्वय गरी गाडी चलाउन आग्रह गरेको छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले केन्द्र सरकारबाट अहिलेसम्म सार्वजनिक गाडी सञ्चालन गर्न सक्ने वातावरण र सुरक्षाको विषयमा आधिकारीक जानकारी नआएको तर महासङ्घले सम्बन्धित क्षेत्र र सरोकारवालालाई प्रशासनसँग समन्वय गरी चलाउन भनेको बताउनुभयो । गाडी सहज सञ्चालनका लागि आफूहरू आवश्यक छलफलमा रहेको पनि उहाँले बताउनुभएको छ ।

यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यसअघि विज्ञप्ति निकालेर विषम परिस्थितिमा गाडी नचलाउन मातहतका सङ्घसंस्थालाई निर्देशन दिएको थियो । निषेधाज्ञा र कर्फ्युका बेला सार्वजनिक गाडी चल्न रोकिएको थियो । गएको सोमबारयता ठप्प रहेका केही सार्वजनिक गाडी चल्न थालेका छन् ।

हिजो बिहान काठमाण्डौको गोङ्गबु नयाँ बसपार्कबाट केही सार्वजनिक गाडी उपत्यका बाहिरीएकोमा आज हिजोको तुलनामा थप बढेको छ । काठमाण्डौ उपत्यकाभित्रै पनि छिटपुट सार्वजनिक गाडी र अरू गाडीहरू चल्न थालेका छन् । नयाँ सरकार गठन भएसँगै आम नागरिकको जनजीवन सामान्य बन्न थालेको हो । काठमाण्डौ उपत्यकासहित देशभरको जनजीवन सामान्य बन्दै गएको हो । जेन–जीको आन्दोलन र असहज अवस्थापछि विभिन्न क्षेत्रमा लगाइको कर्फ्यु र निषेधाज्ञा धेरैजसो क्षेत्रमा हटेको छ ।

अब स्थानीय प्रशासनले आवश्यकताको आधारमा निर्णय गर्न सक्ने नेपाली सेनाले जनाएको छ । काठमाण्डौमा आज कर्फ्यु र निषेधाज्ञा छैन तर ललितपुर र भक्तपुर प्रशासनले यसअघि आजका लागि बिहान ११ बजेदेखि ५ बजेसम्म निषेधाज्ञा र बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु घोषणा गरेकोमा आवश्यक निर्णय गर्न छलफल गरिरहेका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले विस्तारै जनजीवन सहज बनाउने प्रयास भैरहेको र त्यसैअनुसार निर्णय आउने जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय चितवनले आज बिहानैदेखि निषेधाज्ञा र कर्फ्युको आदेश पूर्ण रूपमा हटाएको जनाएको छ । अरु ठाउँमा पनि शान्ति सुरक्षाको अवस्था सामान्य नै छ । सुरक्षाका लागि सडकमा खटिएका नेपाली सेनाहरू अहिले सडकमा छैनन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल एवम् ट्राफिक प्रहरीले सडकमा सुरक्षा दिन थालेका छन् । चहलपहल बढ्दो छ । पसल तथा होटललगायतका क्षेत्र पनि खुलेका छन् ।

गएराति अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएसँगै आज बिहानदेखि अवस्था थप सामान्य बन्दै गएको छ । संसद विघटन गरी आउँदो फागुन २१ गते चुनाव गर्ने गरी मिति घोषणा गरिएको छ । तर मुख्य तीन ठूला राजनीतिक दलले संसद विघटनको विरोध गरेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु