कैलाली प्रहरीले भन्यो -लुटिएका सामान खरिद–बिक्री नगरेर फिर्ता गर्नुहोस्

छिनोफानो   आइतबार २९, भदौ २०८२ ११:०९

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले हालै भएका विरोध प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीबाट क्षति भएका सरकारी कार्यालयका जिन्सी तथा बहुमूल्य सामान चोरी–लुटपाट गरी बजारमा बिक्रीवितरण भइरहेको आशंकामा आम सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।

भदौ २३ र २४ गते कैलाली जिल्लामा भएको प्रदर्शनका क्रममा कम्प्युटर, प्रिन्टर, ल्यापटप, दराज, कुर्सी, टेबल, पंखा, एसी, ब्याट्री लगायतका सामान हराएका तथा चोरी भएको प्रहरीले जनाएको छ। ती सामानहरू केही व्यक्तिहरूले घरमा लुकाइ–छिपाइ राखेको र केही बजारमा बिक्री गरेको सूचना प्रहरीले पाएको जारी सूचनामा उल्लेख छ ।

यस सम्बन्धमा अनुसन्धान भइरहेको भन्दै प्रहरीले त्यस्ता सामानको खरिद–बिक्री नगर्न र नगराउन आग्रह गरेको छ। साथै, यस्ता सामान कसैसँग भएको थाहा पाएमा नजिकको प्रहरी वा सुरक्षा निकायलाई जानकारी गराउन समेत अनुरोध गरिएको छ।

प्रहरीका अनुसार चोरी वा आवेशमा लिएर घरमा राखिएका सामानहरू स्वेच्छाले जिल्ला प्रहरी कार्यालय कैलाली वा नजिकको प्रहरी कार्यालयमा बुझाउनेलाई उचित सम्मान गरिनेछ। तर नबुझाई आफैँसँग राख्ने वा खरिद–बिक्री गर्ने व्यक्तिमाथि भने प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी दिइएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राज कुमार सिंहले यस विषयमा कुनै सूचना भए तुरुन्त सम्पर्क गर्न आग्रह गर्दै आफ्नो सम्पर्क नम्बर ९८५८४९०११८ पनि उपलब्ध गराएका छन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु