कञ्चनपुरका तीन स्थानीय तह ठप्प, सेवा सञ्चालन अनिश्चित

छिनोफानो   मङ्गलबार ३१, भदौ २०८२ ११:००

कञ्चनपुर । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि कञ्चनपुरका तीन स्थानीय तहको सेवा सञ्चालन अनिश्चित बनेको छ । आन्दोलनकारीले आगजनी र तोडफोड गर्दा पुर्नवास, कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा ठूलो क्षति पुगेको हो ।

पुर्नवास नगरपालिकामा वडा कार्यालयदेखि प्रमुख कार्यलयसम्म सबै शाखा जलेर नष्ट हुँदा अत्यावश्यक कागजात, कम्प्युटर, ल्यापटप र फर्निचर समेत नष्ट भएको सूचना अधिकारी धौल शार्कीले बताए । उनका अनुसार, करिब १५ लाख रुपैयाँभन्दा बढी मूल्यको फर्निचर जलेको छ भने सफाइ र क्षति मूल्याङ्कनका लागि अझै दुई साता लाग्ने अनुमान गरिएको छ ।

कृष्णपुर नगरपालिकामा पनि आन्दोलनकारीले नगरप्रमुखको कार्यकक्ष, योजना शाखा, स्वास्थ्य शाखा, शिक्षा शाखा लगायतका कार्यालयमा आगजनी गरी नष्ट गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्टका अनुसार, पाँच मोटरसाइकलसहित कार्यालयका एसी, पङ्खा र अन्य उपकरण जलेका छन् । वडा कार्यालयहरू सञ्चालनमा आए पनि मुख्य कार्यालयबाट सेवा लिन अझै कम्तीमा एक साता पर्खनुपर्ने भएको छ ।

शुक्लाफाँटा नगरपालिकामा आंशिक क्षति पुगेको छ भने वडा नम्बर १, ७ र ९ का कार्यालय पूर्णरूपमा जलेर नष्ट भएका छन् । सूचना अधिकारी मोहन फुलाराका अनुसार, क्षतिको विवरण सङ्कलनपछि आइतबारदेखि पालिकाले नियमित कामकाज सुरु गर्ने तयारी छ । हाल कञ्चनपुरका ६ स्थानीय तह भने पूर्णरूपमा सञ्चालनमा आइसकेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु