सेवा सुचारु गर्न जुटे कैलालीका सरकारी कार्यालयहरू

छिनोफानो   शनिबार ०४, असोज २०८२ १०:५५

धनगढी । जेनजी युवाको आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण अवरुद्ध बनेका कैलालीका विभिन्न सरकारी कार्यालयहरूले सेवा प्रवाह पुनःसञ्चालन गर्न थालेका छन्।

जिल्ला प्रशासनसहित जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयहरूले आंशिक रूपमा सेवा सुरु गरेका छन् भने केहीले तयारी थालिसकेका छन्। आन्तरिक राजस्व कार्यालयले बिहीबारदेखि करदातालाई आवश्यक सेवा कार्यालय परिसरमै टहरोबाट दिन थालेको छ।

जिल्ला प्रशासन कार्यालयका प्रवक्ता शिवराज जोशीका अनुसार क्षतिको यकिन विवरण तयार पार्न सहरी आवास तथा भवन कार्यालयमार्फत काम भइरहेको छ। यातायात, भन्सार, कोष तथा लेखा नियन्त्रक र विभिन्न पालिका कार्यालयले पनि आंशिक रूपमा सेवा सञ्चालन गरिरहेका छन्।

भूमिसुधार तथा मालपोत कार्यालयले सरसफाइ, विद्युत्–इन्टरनेट जडान र जिन्सी समान व्यवस्थापनजस्ता काम पूरा भएपछि छिट्टै नियमित सेवा दिन थाल्ने जनाएको छ।

यसैबीच, मुख्यमन्त्री कमलबहादुर शाहले क्षतिग्रस्त संरचनाको पुनःनिर्माण र तत्काल सेवा सञ्चालनबारे कर्मचारी तथा विकास साझेदारसँग छलफल गरेका छन्। प्रदेशसभा सचिवालयले भने आंशिक रूपमा काम थालिसकेको छ।

जेनजी आन्दोलनका क्रममा सरकारी तथा निजी मिलाएर एक सय ३७ भवनमा आगजनी र तोडफोड भएको थियो भने ६६४ सवारीसाधन पूर्ण रूपमा जलेका थिए।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु