धनगढी । जेनजी आन्दोलनका क्रममा कैलाली जिल्ला प्रशासन कार्यालयमा भएको आगजनीका कारण करिब दुई लाख नागरिकका राष्ट्रिय परिचयपत्र जलेर नष्ट भएका छन्।
जिल्ला प्रशासन कार्यालयका अनुसार, विभिन्न पालिकाबाट संकलन गरिएको एक लाख ६० हजार परिचयपत्र फिल्डमा रहेका र कार्यालयमा भण्डारण गरिएको ४० हजारसहित जम्मा दुई लाख परिचयपत्र जलेका हुन्। परिचयपत्र वितरण प्रक्रिया चलिरहेका बेला भएको आगजनीले यो क्षति भएको हो।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले विवरणहरू सुरक्षित भएकाले जलेका परिचयपत्र पुनः छापेर पठाइने जानकारी दिए। “परिचयपत्र जले पनि विवरण प्रणालीमा सुरक्षित छ, सरकारले छिट्टै नयाँ परिचयपत्र छापेर पठाउनेछ,” उनले भने।
राणाकालमा बनेको पुरानो भवनसमेत आगलागीबाट पूर्ण रूपमा नष्ट भएको छ। सोसँगै राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित कागजात र उपकरणहरू पनि जलेर नष्ट भएका छन्।
प्रतिकृया दिनुहोस