काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले ४५ वर्षमाथिका अनुभवी र परिपक्व नागरिकको ज्ञान, सीप र क्षमतालाई समाज र शहरको विकासमा उपयोग गर्ने मुख्य उद्देश्यले ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ शुरू गरेको छ ।
महानगरले विभिन्न क्षेत्रमा लामो अनुभव हासिल गरेका नागरिकलाई अवकाशपछि पनि समाज र देशको विकासमा योगदान दिने अवसर प्रदान गर्न यो कार्यक्रम ल्याइएको शहरी योजना आयोगका सचिवालय सदस्य विवेक बास्तोलाले जानकारी दिनुभयो । कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण, प्रशासन, शहरी विकास, सम्पदा संरक्षणलगायतका क्षेत्रमा महानगरसँग मिलेर काम गर्न सकिने छ ।
महानगरले ‘कामपा–सिल्भर–भोलिन्टियर–कार्यविधि’ बमोजिम आवेदन आह्वान गरेको हो । कार्यविधिमा उल्लेख भएअनुसार योग्यता पुगेका नागरिकले अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । यो कार्यक्रमका लागि नेपाली नागरिक/गैर आवासीय नेपाली/प्रचलित कानुनबमोजिम स्वीकृति लिएका विदेशी नागरिक, जसको ४५ वर्ष पूरा भई ७४ वर्ष ननाघेको हुनुपर्नेछ ।
त्यस्तै कुनै क्षेत्रमा सरकारी, निजी वा गैर सरकारी संस्थामा कम्तीमा २० वर्ष काम गरी विषयगत दक्षता हासिल गरेको हुनुपर्ने छ । एक वर्ष अवधिका लागि हप्ताको न्यूनतम पाँच घण्टा सेवा दिन तयार हुनुपर्ने, शारीरिक र मानसिक रूपमा काम गर्न सक्षम रहेको हुनुपर्ने, पूर्णरूपमा स्वयंसेवा गर्न इच्छुक रहेको, समितिले तोकेको महानगरभित्रका क्षेत्रमा गई काम गर्न तयार रहनुपर्ने महानगरले जनाएको छ ।
प्रतिकृया दिनुहोस