काठमाण्डौ – काठमाण्डौको चुच्चेपाटीमा रहेको हायात होटलको सेवा बन्द र कर्मचारीलाई काममा नआउन भनिएको सूचनापछि प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीको चासोलगत्तै अर्थमन्त्री रामेश्वर खनालले आज विहान हायात रिजेन्सीको व्यवस्थापन पक्षसँग कुराकानी समेत गर्नुभएको छ । अर्थमन्त्री खनालले होटल व्यवस्थापनलाई नआत्तिन र उच्च मनोबलका साथ सेवा सञ्चालन गर्न आग्रह समेत गरेको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।
हायातले हिजो विज्ञप्तिमार्फत् गएको भदौ २४ मा भएको जेनजी प्रदर्शनका क्रममा तोडफोड भएकाले तत्कालका लागि सेवा बन्द गर्नुपरेको जनाएको थियो । त्यसपछि प्रधानमन्त्री कार्कीले चासो राखेको उहाँका प्रेस संयोजक राम रावलले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार यसबारे भोलि आइतवार होटल व्यवस्थापनसँग सरकारले थप छलफल गर्ने भएको छ । होटलमा भएको क्षति र सुरक्षाजन्य संवेदनशीलताका कारण तत्काल सञ्चालन गर्न नसकिने र अर्को सूचना नआएसम्म कर्मचारीलाई नआउन होटलको मानव संशाधन निर्देशक मोहम्मद यूसुफ चौधरीले निकालेको विज्ञप्तिमा भनिएको छ ।
प्रतिकृया दिनुहोस