बाँके । बाँकेमा चक्कु प्रहारबाट सख्त घाइते एक जना युवकलाई उपचारका लागि भारत पठाइएको छ। यो घटना भाइटीकाको पूर्वसन्ध्यामा भएको थियो। बाँके, कोहलपुर नगरपालिका वडा नम्बर ११ शान्ति टोलका १९ वर्षीय आशिषकुमार ओदालमाथि एक समूहले कात्तिक ५ गते बेलुकी ८ बजेतिर ढाडमा चक्कु प्रहार गरेका थिए।
ढाडमा रोपिएको चक्कुसहित आशिषलाई नेपालगञ्ज मेडिकल कलेज कोहपुरमा पुर्याइएको थियो। तर त्यहाँका चिकित्सक पनि आशिषको ढाडमा रोपिएको चक्कु निकाल्दा थप जोखिम हुने ठानेर छिमेकी देश भारतका लागि रिफर गरिदिएका छन्। ढाडमा चक्कु रोपिएकै अवस्थामा आशिषलाई भारतको लखनउमा लगेर उपचार थालिएको थियो। ढाडको चक्कु निकालेर त्यहाँ उनको आइसियूमा राखेर उपचार भइरहेको खबर आफन्तले दिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी चक्रडम्मर पालले बताए।
घटना भएको सूचना पाउनासाथ प्रहरी चक्कु प्रहार गर्नेहरुको खोजीमा निस्किएको थियो। प्रहरीले सोही दिन मध्य राति कोहलपुर वडा नम्बर १० का २४ वर्षीय खगेन्द्र रोकाया, उनका भाइ १९ वर्षीय गणेश रोकाया र कोहलपुर वडा नम्बर ११ का १९ वर्षीय युवक शाहीलाई नियन्त्रणमा लिएको थियो।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख पालका अनुसार आशिषमाथि खगेन्द्रले चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुई दिन पहिले कात्तिक ३ गते आशिष र गणेशका बीचमा सामान्य विवाद भएको थियो। त्यही विवादलाई रिसिबीको रूपमा लिँदै भाइको झगडामा दाजु मिसिएको र आशिष माथि चक्कु प्रहार गरेको डिएसपी पालले बताए।
‘भाइको झगडामा दाजु गएर चक्कु प्रहार गरेको अनुसन्धानबाट खुलेको छ,’ डिएसपी पालले भने, ‘चक्कु प्रहारको घटनाबारे थप अनुसन्धान भइ रहेको छ।’
प्रतिकृया दिनुहोस