बैतडी । दसैँ–तिहार सकिएसँगै सुदूरपश्चिमका विभिन्न शक्तिपीठ तथा मन्दिरमा पूजाआजा, जात्रा र मेलाको रौनक छाएको छ । कात्तिक शुक्लपक्ष प्रारम्भ भएसँगै बैतडीका गाउँ–सहरहरू भक्तजनको भीडले गुञ्जिएका छन् । बाहिरबाट आएका श्रद्धालुका कारण स्थानीय बजारमा समेत चहलपहल बढेको स्थानीयवासी बताउँछन् ।
सदरमुकाम नजिकै रहेको रणशैनी भगवतीको नामले प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा हरेक वर्ष कात्तिक शुक्ल अष्टमी र नवमीका दिन विशेष जात्रा लाग्ने गर्दछ । उक्त अवसरमा राँगा र बोकाको बलि दिने परम्परा रहेको मन्दिर सेवा समितिका अध्यक्ष गणेशसिंह थापाले जानकारी दिनुभयो ।
जिल्लाको दक्षिणी क्षेत्रको प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने देही जात यस वर्ष कात्तिक १८ र १९ गतेका दिन आयोजना हुने मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदीश सिंह नायकले बताउनुभयो ।
त्यस्तै, शिवनाथ गाउँपालिका–६ स्थित शिवनाथ धाममा पनि कात्तिक ११ र १२ गते जात्रा लाग्दैछ । प्रत्येक वर्ष शुक्ल सप्तमी र अष्टमीका दिन यहाँ धार्मिक मेला लाग्ने गरेको स्थानीय केशव चन्दले जानकारी दिनुभयो ।
कात्तिक शुक्लपक्षको आरम्भसँगै सुदूरपश्चिमका बैतडीका त्रिपुरासुन्दरी भगवती, रौलाकेदार, मेलौली भगवती, फाल्ङासैनी भगवती, शिवनाथ, महारुद्र, त्रिवेणीधाम (राताशीला), गणमेश्वर, जगन्नाथ, कफलाशैनी भगवती, बाशुलिङ्ग, सिगास धुरा, सनशेर, सुरपाल, अनिरुद्रलगायतका मन्दिरहरूमा भक्तजनको भीड लागेको छ ।
दार्चुला जिल्लामा रहेको राष्ट्रकै सातौ धाम मालिकार्जुन तथा लटिनाथ मन्दिरमा पनि कात्तिक शुक्लपक्षमै जात्रा लाग्ने गरेको छ । डडेल्धुराको उग्रतारा र भागेश्वर मन्दिरहरूमा समेत यस्तै धार्मिक उत्सव चलिरहेको स्थानीयहरूले बताएका छन् ।
त्यस्तै, डोटीको बडिकेदार मन्दिरमा पनि जात्राको तयारी तीव्र छ भने निङ्गाशैनी, उदयदेव (पाटन), डिलाशैनी भगवती लगायतका मन्दिरहरूमा जात्रा सम्पन्न भइसकेको स्थानीय लबदेव जोशीले बताउनुभयो । यस अवधिमा सुदूरपश्चिमका अधिकांश मन्दिरमा देव–देवीको पूजा, बलि, भाकल पूर्ति, जाग्राम र मेला–भेटघाटका गतिविधिहरू हुने गर्छन् । श्रद्धालुहरूले शुद्ध भोजन ग्रहण गरी मन्दिरमा जाने चलन रहिआएको छ । शक्तिपीठहरूमा राँगा र बोकाको बलि दिने परम्परा यथावत् रहँदै आएको छ ।
स्थानीय माधव लेखकका अनुसार मेला–जात्रा अवसरमा घरायसी उत्पादन, लुगाकपडा तथा कृषि सामग्री किनबेच पनि हुने भएकाले यसले स्थानीय अर्थतन्त्रमा चहलपहल ल्याउँछ । दसैँ–तिहारका धार्मिक अनुष्ठान सम्पन्न भइसकेपछि सुरु हुने यी जात्राहरूमा टाढा रहेका आफन्त र छिमेकीबिच भेटघाट हुने अवसर मिल्ने सूर्नया गाउँपालिका–३ का विष्णु भट्टले बताउनुभयो ।
मन्दिरका पूजारीहरूका अनुसार बिरलै हुने देवदेवताका जात्रामा भक्तजनले आफ्नो भाकल पूरा गर्ने विश्वास रहिआएको छ ।
त्रिपुरासुन्दरी, मेलौली, मालिकार्जुनलगायत मन्दिरहरूमा भारतबाट समेत हजारौं भक्तजन आउने गरेका छन् । जुलाघाट सीमा क्षेत्रका व्यापारीका अनुसार यस वर्ष मात्र त्रिपुरासुन्दरीमा करिब दुई हजारभन्दा बढी भारतीय श्रद्धालु पुगेका छन् ।
मेलौलीका स्थानीय सुरतसिंह पार्कीका अनुसार तीन–चार दिनसम्म चल्ने मेलाका बेला पाहुनाको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने भएकाले गाउँका होटल तथा घरहरू भरिभराउ हुने गर्छन् ।
यस अवसरमा स्थानीय तहहरूले मन्दिर क्षेत्र, बाटो तथा सडक सरसफाइ गरेका छन् । मेलालाई व्यवस्थित र सहज बनाउन मन्दिर वरपर मदिराजन्य पदार्थको प्रयोग निषेध गरिएको छ ।
प्रतिकृया दिनुहोस