बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा चल्ने सवारीसाधन फेरीकै भरमा पर्ने गरेका छन् ।
स्वामीकार्तिक खापर र जगनाथ गाउँपालिकाको बिचमा पर्ने कर्णाली नदीमा अझै पक्की पुल नहुँदा यहाँ चल्ने सवारीसाधन फेरीकै भरमा पर्ने गरेका हुन् । विगत केही वर्ष पहिला यहाँका स्थानीय सरकारले कर्णाली नदीमा फेरी सञ्चालनमा ल्याएको थियो । त्यो फेरी हिउँदको महिना राम्रोसँग सञ्चालन हुने गरेको भए पनि बर्खाको समय भने बन्द हुने गर्छ ।
पछिल्लो समय स्वामीकार्तिक खापर गाउँपालिकाको अधिकांश गाउँबस्तीमा सडक सञ्जालको पहुँच छन् । बर्खाको समय ती सडक सुनसान अवस्था हुन्छन् । कर्णाली नदीमा पक्की पुल नहुँदा यहाँ चल्ने गरेका गाडी पिलिचौरमा रोकिने गरेपछि यहाँका सडक सुनसान बन्ने गरेका हुन् । यहाँका स्थानीय लामो समयदेखि घोडा, खच्चर, भेडा र पिठ्युँमा भारी बोकेर कर्णाली नदीमा रहेको झुलुङ्गे पुलको सहाराले दैनिक खाद्यान सामग्री ढुवानी गर्दै आउने गरेका थिए ।
अहिले यहाँका अधिकांश गाउँबस्तीमा सडक पुगेसँगै त्यही फेरीका सहाराले यहाँका गाउँबस्तीमा गाडी गुड्न थालेका हुन् । यहाँका स्थानीयले भेडा, घोडा र खच्चर छोडेर दैनिक खाद्यान्न सामग्री गाडीमा ढुवानी गर्दै आएका छन् । हिउँदको महिना कर्णालीपारि स्वामिकार्तिक खापर गाउँपालिकाका विभिन्न ठाउँमा चल्ने जिप, ट्याक्टर कर्णाली नदीमा पानीको बहाब बढेकाले फेरी चल्न बन्द भएसँगै ती पिलिचौरमा नै रोकिने गरेका छन् ।
२०७७/७८ सालमा स्वामीकार्तिक र जगनाथ गाउँपालिकाको बिचमा रहेको कर्णाली नदीमा राखेको फेरीले यहाँका स्थानीयलाई जिप ट्याक्टरलगायतका सवारीसाधनलाई हिउँदमा वारपार गर्न सहज भएको थियो । कर्णाली नदीमा राखेको फेरीले नै यहाँका स्थानीयको जीवनशैली बदलिएको स्वामिकार्तिक गाउँपालिका स्थानीय नरे लुहारले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो पैदल यात्रा गरेर सामान ढुवानी गर्दै आएका थियौँ । अहिले यसरी कर्णाली नदीमा हालेको फेरीले नुन, तेल, चामललगायतका दैनिक उपभोग्य सामग्री ढुवानी सहज भएको छ ।”
हिउँदमा कर्णाली नदीमा पानी बहाव कम हुँदा फेरी चल्ने र बर्खाको समय पानीको बहाव बढे फेरी नचल्ने भएकाले नुन, तेल, चामललगायतका दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै समस्या हुने गरेको लुहारले बताउनुभयो । स्वामीकार्तिक खापर गाउँपालिका कर्णाली नदीपारि रहेको छ । सो पालिकाले यहाँका अधिकांश वडा सडक सञ्जालको पहुँचमा राखेको छ ।
प्रतिकृया दिनुहोस