केही वर्षयता राष्ट्रिय समस्याको रुपमा विस्तार भएको सहकारी ठगीमा करिब साढे तीन अर्बको समस्या थपिएको छ । संघीय सहकारी यसअघि काठमाडौं उपत्यकाका २३ सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिसकेको छ । अहिले १६ वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणले मन्त्रालयलाई सिफारिस गरेको छ । ती सहकारी संस्थाका बचतकर्ताहरुले आफ्नो बचत रकम फिर्ता नपाएको उजुरी दिएपछि प्राधिकरणले मन्त्रालयमा सिफारिस गरेको हो ।
प्राधिकरणले आवश्यक अनुसन्धान पूरा गरेर यसअघि १५ बचत तथा ऋण र एक बहुउद्देश्यीय सहकारी संस्थालाई संकटग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो । तर, मन्त्रालयले निर्वाचन आचारसंहिता लागू भएको भन्दै निर्णय गरेको थिएन ।
निर्वाचन लगत्तै मन्त्रालयले प्रक्रिया नपुगेको भन्दै प्राधिकरण मै फिर्ता गरेको बताइएको छ । प्राधिकरणले काठमाडौं र लतिपुरका १५ बचत तथा ऋण सहकारी संस्था र देउराली बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो । ती सहकारी संस्थाहरुले बचतकर्तालाई ३ अर्ब ३५ करोड ४९ लाख रुपैयाँ बचत फिर्ता गर्न नसकेको प्राधिकरणले जनाएको छ ।
प्रतिकृया दिनुहोस