कैलाली भन्सारले आठ महिनामा गर्यो पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

छिनोफानो   बुधबार ०४, चैत २०८२ ०९:२९

कैलालीः कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा पाँच अर्ब ४० करोड ६७ लाख राजस्व सङ्कलन गरेको छ। कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुन मसान्तसम्ममा उक्त परिमाणको राजस्व सङ्कलन गरेको हो।

कार्यालयले भन्सार महसुलतर्फ दुई अर्ब ८४ लाख, मूल्य अभिवृद्धि करतर्फ दुई अर्ब सात करोड ५९ लाख, अन्तःशुल्कतर्फ १० करोड ५६ लाख र अन्यतर्फ एक अर्ब २१ करोड ६६ लाख राजस्व सङ्कलन गरेको भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सिनाले जानकारी दिए। उहाँका अनुसार कार्यालयको चालु आर्थिक वर्षमा रु नौ अर्ब ७१ करोड १५ लाख राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य छ। आठ महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको ५५ दशमलव ६७ प्रतिशत रहेको उनले जानकारी दिए।

चालु आर्थिक वर्षका कुनै पनि महिनामा राजस्व सङ्कलन लक्ष्यमा भने पुग्न सकेको छैन। कार्यालयले साउनमा ७१ करोड ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ५७ करोड ८० लाख, भदौमा ७४ करोड २१ लाख लक्ष्य रहेकामा ५३ करोड ७० लाख, असोजमा ७६ करोड ७७ लाख लक्ष्य रहेकामा ६७ करोड ७८ लाख र कात्तिकमा ८४ करोड ६७ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकामा ७२ करोड ५४ लाख मात्रै राजस्व सङ्कलन गरेको सूचना अधिकारी तिमिल्सिनाले जानकारी दिए।

यस्तै मङ्सिर महिनामा ७८ करोड ३३ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकामा ६८ करोड ९१ लाख, पुसमा ८१ करोड २५ लाख लक्ष्य रहेकामा ७४ करोड ६५ लाख, माघमा ७६ करोड नौ लाख लक्ष्य रहेकामा ६८ करोड ८२ लाख र फागुन महिनामा ७७ करोड १४ लाख लक्ष्य रहेकामा रु ७६ करोड ४४ लाख मात्रै राजस्व सङ्कलन भएको उनले जानकारी दिए।

गत आर्थिक वर्ष २०८१/८२ मा राजस्व सङ्कलन लक्ष्यमा पुग्न सकेको थिएन्। गत आर्थिक वर्षमा ११ अर्ब १६ करोड २६ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा आठ अर्ब ६६ करोड ९८ लाख मात्रै राजस्व सङ्कलन भएको सूचना अधिकारी तिमिल्सिनाले बताए। यो वार्षिक लक्ष्यको ७७ दशमलव ६७ प्रतिशत मात्रै हो।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु