सुदूरपश्चिममा राजनीतिक नियुक्तिमा विवाद : एमाले दलको नेता फेर्न दबाब

छिनोफानो   सोमबार ०९, चैत २०८२ ०९:०६

धनगढी : एमाले सुदूरपश्चिम संसदीय दलको नेता परिवर्तन गर्न दबाब बढेको छ। दलका नेता राजेन्द्र सिंह रावलले अस्पताल विकास समिति लगायतको नियुक्ति गर्दा परामर्श नगरी एकलौटी गरेको भन्दै एमाले सुदूरपश्चिम प्रदेश कमिटीले पार्टी केन्द्रको ध्यानाकर्षण गराएको थियो।

राजनीतिक नियुक्तिको विषयमा भएको विवाद बढेका बेला दलको नेता नै फेर्न दबाब बढेको छ। एमाले प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले दलको नेताले मनोमानी गरेको बताएका छन्। पूर्वमुख्यमन्त्री रावल पार्टीको सम्पर्कमा नै नरहने गरेको आरोप लगाइएको छ। उनी सम्पर्क विहीन भएको भन्दै राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरको कृष्णपुर नगर कमिटीले आइतवार संसदीय दलको कार्यालयमै तालाबन्दी गरेको छ।

तालाबन्दी गर्ने युवाहरूले रावलले राजनीतिक नियुक्तिमा एकलौटी गरेको, प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारलाई असहयोग गर्ने व्यक्तिलाई नियुक्ति दिलाएको, पटक–पटक प्रयास गर्दा पनि सम्पर्कमा नआउने गरेका जस्ता आरोप लगाएको छ।

तर, रावलले भने आफूमाथि लगाइएका आरोपमा कुनै सत्यता नभएको दाबी गरेका छन्। अहिलेसम्म पार्टीको भागमा परेको महाकाली प्रादेशिक अस्पतालको व्यवस्थापन समितिका पदाधिकारी र सदस्य मात्र नियुक्त गरेको बताउदै पार्टीकै परामर्शमा भएको बताए। पार्टीका प्रदेश अध्यक्ष सहितका नेताहरूसँग परामर्श गरेरै सबै नियुक्तिका लागि सिफारिस गरिएको उनी बताउँछन्। रावलले यो बीचमा स्वास्थ्य समस्या देखिएकाले नेताहरूको सम्पर्कमा आउन नसकेको बताए। खप्तड पर्यटन विकास समितिको अध्यक्षमा बझाङकी जमुना चन्दलाई सिफारिस गर्दा विवाद निकाल्न खोजिएको पनि रावलले बताए।

रावलको कार्यशैलीमाथि प्रश्न उठाउदै संसदीय दलको नेता फेर्नेगरी पार्टी नेता र प्रदेश सांसदहरू लागिपरेका छन्। दलको नेतामा आकाङ्क्षी रहेकाहरू पार्टी केन्द्रको निर्देशन कुरिरहेका छन्।

दलको नेता बन्न अहिलेकी उपनेता सन्तोष शर्मा थापा, प्रमुख सचेतक चक्रबहादुर मल्ल र सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले आकाङ्क्षा राखेको बताइएको छ। थापाले आफू उपनेता भएकाले दलको नेता दावी गर्नु स्वभाविक हुने बताउने गरेका छन्। केन्द्रीय सदस्य मल्ल पनि आफ्नो पक्षमा माहोल बनाउन सक्रिय छन्। सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले पनि आफू युवा भएको र संसदीय दलको नेतृत्व गर्न सक्ने क्षमता भएको दावी गरेका छन्।

एमाले सुदूरपश्चिम प्रदेश सभामा ११ जना सांसद छन्। उनीहरू मध्ये रावल संसदीय दलको नेता छन् भने सन्तोष शर्मा थापा उपनेता छन्। कोइलीदेवी चौधरी उपसभामुख छिन्। डोटीबाट निर्वाचित चक्रबहादुर मल्ल प्रमुख सचेतक छन् भने बैतडीकी सांसद जानकी कुँवर बम सचेतक हुन्।

एमालेबाट तीन जना मन्त्री छन्। सुरेन्द्र बहादुर पाल भौतिक पूर्वाधार विकास मन्त्री, बिरबहादुर थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री, हिरा पार्की आन्तरिक मामिला तथा कानुन मन्त्री र निर्मला साउद भौतिक पूर्वाधार विकास राज्यमन्त्री छन्। धर्मराज पाठक सामाजिक विकास समितिको सभापति छन्।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु