विश्व स्वास्थ्य संगठनले उच्च ज्वरो, लगातार खोकी र गन्ध तथा स्वाद थाहा नपाउनेजस्ता लक्षणलाई कोभिडका मुख्य लक्षणको रूपमा परिभाषित गर्दै आएको छ । तर, तेस्रो लहर भित्र्याएको ओमिक्रोनको लक्षण डेल्टाको भन्दा फरक रहेको पछिल्ला सर्वेक्षणहरूले देखाएका छन् ।
अधिकांश संक्रमितमा घाँटी दुख्ने र टाउको दुख्नेजस्ता सामान्य लक्षण मात्रै देखिएका छन् । स्वाद वा गन्ध हराउने, ज्वरो आउनेजस्ता समस्या ५० प्रतिशतमा देखिएको बेलायतका वैज्ञानिकहरूको एक सर्वेक्षणले देखाएको छ । ढाड दुख्ने, थकित महसुस हुने, शरीर मन्द तात्ने, वाकवाकी लाग्ने, पखाला लाग्नेजस्ता लक्षण देखिएका छन् । रुघाखोकीको सामान्य लक्षण खोकि लाग्ने, घाँटी खसखस गर्ने हुन्छ ।
श्वास–प्रश्वासमा समस्या नहुँदा अधिकांशले यसलाई बेवास्ता गरिरहेको बताउँछन् वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन । ‘सामान्य लक्षण देखिनु सकारात्मक पक्ष हो, तर भाइरल लक्षणहरूलाई बेवास्ता गर्दा गम्भीर समस्या निम्तिन सक्छ,’ उनी भन्छन् ।
लक्षण सामान्य हुँदा विश्वमै बिरामीको अस्पताल भर्नादर निकै कम छ । नेपालमा दैनिक परीक्षणको आधारमा संक्रमणदर ३८.६ प्रतिशत पुगेको छ । तर, हालसम्म सक्रिय संक्रमितको आधारमा अस्पताल भर्नादर चार प्रतिशतभन्दा कम छ । सोमबारसम्मको विवरणअनुसार देशभर सक्रिय संक्रमितको संख्या ३० हजार आठ सय ७७ पुग्दा उपचारका लागि एक हजार एक सय ७२ जना मात्रै अस्पतालमा उपचाररत छन् ।
सामान्य लक्षण मात्रै देखिएकाले अस्पताल भर्नादर नबढेको डा. नीरज बम बताउँछन् । उनका अनुसार श्वास–प्रश्वासमा समस्या र निमोनियाका लक्षण निकै कममा देखिएको छ । नेपालमा मात्र नभई उच्च संक्रमण रहेको भारतमा समेत बिरामीको अस्पताल भर्नादर न्यून रहेको भारतीय स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।
प्रतिकृया दिनुहोस