सुदूरपश्चिम प्रदेश तहमा सार्वजनिक पद धारणा गरेका २१ जनाले आफ्नो सम्पत्ति विवरण लुकाए

छिनोफानो   मङ्गलबार ०१, जेठ २०८१ ११:३१

धनगढी ।  सुदूरपश्चिम प्रदेश तहमा सार्वजनिक पद धारणा गरेका २१ जनाले आफ्नो सम्पत्ति विवरण लुकाएका छन्। 

सार्वजनिक पदमा बसेका कर्मचारी एवं पदाधिकारीले नै आफ्नो सम्पत्ति विवरण लुकाउने गरेका छन्। सुदूरपश्चिममा मात्रै एक सय ९३ कर्मचारी र पदाधिकारीले आफ्नो सम्पत्ति विवरण लुकाएका हुन्। आफ्नो सम्पत्ति विवरण पेस नगर्ने कर्मचारी र पदाधिकारीको संख्या उच्च देखिएको छ।

प्रदेश तह अन्तर्गत कर्मचारी एवं पदाधीकारीले गत आर्थिक वर्ष २०७९/८० मा आफ्नो सम्पत्ति विवरण नबुझाएका हुन्। त्यस्तै सुदूरपश्चिम प्रदेश तहका एक सय ७२ कर्मचारी एवं पदाधिकारीले पनि आफ्नो सम्पत्ति विवरण बुझाएका छैनन्। यहाँका स्थानीय तहमा कार्यरत ३३ हजार तीन सय २ कर्मचारी र पदाधिकारीले भने आफ्नो सम्पत्ति विवरण बुझाएका छन्।

प्रदेश तहका दुई हजार दुई सय ९५ कर्मचारी र पदाधिकारीले आफ्नो सम्पत्ति विवरण बुझाएका छन् भने २१ कर्मचारी एवं पदाधिरीले आफ्नो सम्पत्ति विवरण लुकाएका छन्। राष्ट्रिय सतर्कता केन्द्रले सोमबार गत आर्थिक वर्षमा सम्पत्ति नबुझाएका व्यक्तिहरुको विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाउँदै आवश्यक कारबाहीका लागि सिफारिस गरेको छ।

सतर्कता केन्द्रले प्रेस विज्ञप्ति जारी गर्दै सम्पत्ति विवरण नबुझाउनेहरुलाई आवश्यक कारबाहीका लागि आयोगमा बुझाएको हो। सुदूरपश्चिम प्रदेशका २१ जनाले यस्तो विवरण नबुझाएको केन्द्रले जनाएको छ। राष्ट्रिय सर्तकता केन्द्रका सचिव रामआधार साहले आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसमक्ष प्रतिवेदन बुझाएको बताए। सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३८ (ग) तथा राष्ट्रिय सतर्कता केन्द्र (कार्य सञ्चालन) नियमावली, २०६५ को नियम ९ र १० अनुसार सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु