विराटनगर । ८ असारदेखि कोशीमा प्रदेशसभा बैठक बस्न सकेको छैन । सत्तारुढ र विपक्षी दलका सांसदहरुले सभामुखले प्रदेशसभा बैठक नबोलाएको भन्दै आलोचना गरिरहेका छन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली कांग्रेस सरकारमा सहभागी नहुँदासम्म प्रदेशसभा बैठक नबोलाउन सभामुख अम्बरबहादुर विष्टलाई आग्रह गरेका छन् । मुख्यमन्त्रीको आग्रह अनुसार उनले प्रदेशसभा बैठक नबोलाएको सांसदहरुको गुनासो छ ।
नेपाली कांग्रेस र एमालेको गठबन्धन बनेपछि माओवादी केन्द्रका मन्त्रीहरुले राजीनामा दिइसकेका छन् तर माओवादीले समर्थन फिर्ता लिइसकेको छैन ।
सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेसले पनि मन्त्रीको नाम टुंगो नलगाएका कारण सरकार विस्तार अनिश्चित छ । सरकार विस्तारका नाममा संसद नै रोकिएको भन्दै कांग्रेस र एमालेकै सांसदले बैठक बोलाउन माग गरेका छन् ।
केही दिनअघि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेसले आग्रह गरेका कारण संसद बैठक केही दिन रोकिएको बताएका थिए ।
कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीलाई सरकार विस्तारपछि प्रदेशसभा बैठक बोलाउन आग्रह गरेको स्वीकार गरे । ‘सरकार विस्तारका लागि माथि छलफल चल्दैछ, केही दिनपछि बैठक बोलाउँदा हुन्छ भनेका छौं’, उनले भने, ‘सरकारले आफ्नो काम गरिरहेकै छ ।’
माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संसद दुई तिहाई बहुमतको छायामा परेको टिप्पणी गरे । ‘दुई तिहाइ बहुमतको छायाँमा संसद पर्यो, सभामुखले बैठक बोलाउन सक्नुभएन’, आङ्बोले भने, ‘जनताको आवाज उठाउने थलो बन्धक बन्यो ।’
नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी र नेपाली कांग्रेसका सांसद तथा पूर्वमुख्यमन्त्री केदार कार्कीले पनि सभामुखले बैठक बोलाउनुपर्ने बताएका छन् ।
‘दुई महिना भइसक्यो बैठक बसेको छैन, सभामुखले इनिसिएसन लिन पर्दैन ?’, एमाले प्रमुख सचेतक भण्डारीले प्रश्न गरे, ‘मुख्यमन्त्रीका कतिपय बाध्यता होलान्, उहाँले (सभामुख) पनि इनिसिएसन लिनुपर्यो नि अब त लामो समय भयो ।’
प्रदेश सभाको बैठक नबस्दा प्रदेश सभामा दर्ता भएका विधेयकहरू अलपत्र परेको उनले बताए ।
पूर्वमुख्यमन्त्री केदार कार्कीले कांग्रेसलाई देखाएर बैठक रोक्न नहुने बताए । उनले भने, ‘संसद नियमावली अनुसार चल्छ । यो बर्खाको विपदमा सबै भन्दा बढ़ी क्षति कोशीले व्यहोरेको छ । जनताको आवाज उठाउने थलो संसद कुनै पनि बहानामा छल्न पाइदैन ।’
प्रतिकृया दिनुहोस