व्यवस्थित भएन घोडाघोडी मन्दिरको आम्दानी

छिनोफानो   शनिबार ०८, भदौ २०८१ ०२:११

विश्व सिमसार क्षेत्र घोडाघोडी जैविक विविधतासँगै धार्मिक दृष्टिले समेत महत्वपूर्ण मानिन्छ । थारू र पहाडी समुदायका पुजारी रहने घोडाघोडी धार्मिक क्षेत्रमा मन्दिरैपिच्छे पुजारी बस्ने गरेका छन् । विशेष तिथि तथा पर्वमा भिडभाड हुने घोडाघोडी धार्मिक क्षेत्रमा टाढा टाढाबाट समेत दैनिक दर्शन गर्न धार्मिक पर्यटक आउने गर्छन् तर मन्दिरको आम्दानी भने अहिलेसम्म लेखाजोखा सार्वजनिक गरिएको पाइँदैन ।

घोडाघोडी धार्मिक क्षेत्रमा मुख्य गरी घोडाघोडी देवीको मुख्य मन्दिर भए पनि यहाँ शिव, विष्णु, दुर्गा भगवती, हनुमान, महोन्याल बाबाको अलग अलग मन्दिर रहेका छन् । मुख्य घोडाघोडी मन्दिर र होमकुण्ड शिव मन्दिरमा बढी भक्तजनको भिडभाड हुने गर्दछ । जनैपूर्णिमाको दिन मात्र होमकुण्ड शिव मन्दिरमा आउने दर्शनार्थीले रक्षाबन्धन बाँधेबापतको १८ हजार दक्षिणा उठेको उक्त मन्दिरका पुजारी शङ्करप्रसाद सन्ज्यालले बताउनुभयो । उहाँले सनातन धर्म संस्कृति वेदविद्या आश्रमको बैङ्क खातामा उक्त रकम जम्मा गरेको बताउनुभयो ।

२०५८ सालदेखि मन्दिर परिसरमै आश्रमले कार्यालय राखेर कार्यसञ्चालन गर्दै आएको छ । उक्त आश्रमले गुरुकुल शिक्षासमेत सञ्चालनमा ल्याएको छ । गुरुकुलमा कक्षा ६ देखि १० सम्म कर्मकाड र संस्कृत पढाइ हुने गरेको छ । २०७४ सालमा गुरुकुलले अनुमति पाएपछि मन्दिरकै खर्चबाट गुरुकुल सञ्चालन हुँदै आएको गुरुकुलका प्राचार्यसमेत रहेका सन्ज्यालले जानकारी दिनुभयो । त्योबाहेक घोडाघोडी मुख्य मन्दिरलगायत अन्य मन्दिरमा वार्षिक कति भेटी चढ्छ, त्यो कहाँ, कहाँ खर्च हुन्छ अहिलेसम्म कुनै लेखाजोखा पाइँदैन ।

एउटै धार्मिक क्षेत्रमा विभिन्न समितिले मन्दिरको भेटी उठाउने गरेका छन् । विभिन्न समयमा घोडाघोडी मन्दिरको आम्दानीलाई एकद्वार प्रणालीमा ल्याउनका लागि छलफल भए पनि प्रयास असफल भएको स्थानीय बताउँछन् । मन्दिरमा हुने आम्दानीलाई मन्दिरकै संरक्षण र विकासका लागि खर्च हुन नसक्दा त्यहाँका मन्दिर जीर्ण  हुँदै आएका छन् । घोडाघोडी धार्मिक क्षेत्रमा विभिन्न समितिले मन्दिरको भेटी लैजाने गरेको भए पनि आश्रमबाहेक अन्य समितिले कहाँ, कसरी आम्दानीलाई सदुपयोग भयो भन्ने विषयमा स्वयं पुजारीसमेत अनभिज्ञ छन् । घोडाघोडी मन्दिर, दुर्गा मन्दिर र हनुमान मन्दिरको आम्दानी सन्त समागम समाजले लैजाने गरेको छ । पुजारीलाई मासिक तलब तोकेको सो समाजले घोडाघोडीबाट वार्षिक के कति आम्दानी र खर्च हुने गरेको छ भन्ने कुरा अहिलेसम्म सार्वजनिक भएको देखिँदैन ।

मासिक आठ सय रुपियाँमा मन्दिरमा सेवा दिइरहेका एक पुजारीले मन्दिरको सरसफाइदेखि अन्य सेवा आफूले दिए पनि समितिले तोकेको पारिश्रमिक लिएर बस्न बाध्य भएको बताउनुभयो । उहाँले विशेष पर्वमा निकै भिडभाड हुने बताउँदै उक्त दिन समितिका पदाधिकारी भेटी बुझ्न आफैँ आउने गरेको बताउनुभयो  । विशेष पर्वलगायत दैनिक उठेको भेटी समितिलाई बुझाउने पुजारीले आफू बिरामी पर्दा, तरकारी किन्दा आफ्नो पैसाले गर्नुपर्ने बाध्यता सुनाउनुभयो । ७५ वर्षीय पुजारीले बिहानदेखि साँझसम्म मन्दिरमा बस्नुका साथै मन्दिर सरसफाइको काम गर्दा शारीरिक थकान बढी हुने बताउनुभयो । 

यस विषयमा बुझ्न खोज्दा समाजका अध्यक्ष कप्तान चौधरीले  फोन उठाउनु भएन । नगर भलमन्सा समितिका अध्यक्ष बुधराम चौधरीले घोडाघोडीमा लवाङ्गी पूजालगायत अन्य ठुला धार्मिक कार्यक्रम गर्दा भलमन्साले आर्थिक सहयोग उठाएर गर्ने गरेको बताउनुभयो । स्थानीय सरकारको पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकालको पनि आधा समय बित्न लागेको छ ।  घोडाघोडीमा हुने आम्दानीलाई व्यवस्थित गर्न नसक्नु स्थानीय सरकारको कमजोरी रहेको स्थानीयले बताएका छन् । गोरखापत्र अनलाइन

  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु