काठमाण्डौ – नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रयमाससम्मको कार्यान्वयन स्थिति, आन्तरिक तथा बाहृय आर्थिक एवम् वित्तीय अवस्था तथा समष्टिगत आर्थिक परिदृश्यका आधारमा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको जनाएको छ ।
मौद्रिक सूचकहरू सकारात्मक देखिएकाले विद्यमान व्यवस्थाहरू यथावत् राखेर मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
मौद्रिक नीतिको नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रूपमा रहेको निक्षेप सङ्कलन दरलाई ३ प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रूपमा रहेको बैंक दरलाई ६ दशमलव ५ प्रतिशतमा यथावत् राखिएको छ ।
त्यस्तै अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई पनि यथावत् राखिएकाे छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा मूल्यवृद्धिलाई ५ प्रतिशतको हाराहारीमा राख्ने गरी मौद्रिक व्यवस्थापन गर्ने नीति लिइएकोमा पहिलो तीन महिनाको औसत उपभोक्ता मूल्यवृद्धि ४ दशमलव २६ प्रतिशत रहेको छ ।
प्रतिकृया दिनुहोस