विवाह गर्न दबाब दिएपछि प्रेमीले गरे प्रेमिकाको हत्या, प्रेमीसहित तीन युवक पक्राउ

छिनोफानो   शनिबार १५, मङि्सर २०८१ ११:३७

जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिका- ५ की २० वर्षीया रेखा कुमारी मण्डलको हत्या साथीको सहयोगमा उनका आफ्नै प्रेमीले गरेको खुलेको छ ।

मंसिर ८ मा जनकनन्दिनी गाउँपालिका- ४ र कमला नगरपालिका- २ सरावेकोबीच सिमानामा पर्ने नहरमा बाराभित्र रेखाको शव फेला परेको थियो ।

प्रहरीले उनको हत्यामा संलग्न तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकनन्दिनी गाउँपालिका- ३ का २२ वर्षीय राम ललित खत्वे मण्डल, २० वर्षीय ज्ञानेन्द्र दास र शहिदनगर नगरपालिका ८ का २४ वर्षीय रमेश कुमार मण्डल छन् ।

पक्राउ परेका राम ललित मृतक रेखाको प्रेमी रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले जानकारी दिए । उनका अनुसार विवाहको विषयमा विवाद भएपछि राम ललितले ज्ञानेन्द्र र रमेशको सहयोगमा हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

राम ललित र रेखाबीच ४र५ वर्षदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ । राम ललितसँग रेखा विवाह गर्न चाहन्थिन । तर घर परिवारले अस्वीकार गर्दा रेखाले राम ललितलाई भागेर विवाह गर्न दबाब दिएकी थिइन् ।

राम ललित भने नेपाली सेनामा जागिरका लागि फारम भरेका थिए । उनले जागिर भए पश्चात मात्र विवाह गर्ने अडान लिएका थिए । विवाह तत्काल गर्न दबाब दिएकै कारण उनले प्रेमिका रेखाको हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

‘प्रेमी राम ललितको योजना अनुसार रेखालाई ज्ञानेन्द्र र रमेशले नहर नजिक लगेको थियो’, डीएसपी सिंहले भने, ‘राम ललितले रेखाको अनुहारमा ढुंगाले हानेर मुर्छित पारे र ब्लेडले घाँटी रेटेर हत्या गरे । त्यसपछि बोरामा बाँधेर नहरमा फाले ।’

पक्राउ परेका तीनै जनामाथि कारबाही अगाडी बढाएको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु