कञ्चनपुर।जेनजी प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट फरार भएका ११६ जना कैदी अझै सम्पर्कमा आएका छैनन्।भदौ २४ गते कञ्चनपुर कारागारमा भएको घटनामा ४७८ जना कैदी फरार भएका थिए, जसमा अधिकांश पक्राउ परे पनि हालसम्म ११६ जना कैदी बेपत्ता रहेका कारागार प्रशासनले जनाएको छ।
कारागार प्रशासनले फरार रहेका कैदी तथा थुनुवालाई आज (सोमबार) साँझ ५ बजेभित्र स्वेच्छाले कारागारमा फर्किन समयसीमा तोकेको छ।
यसअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र कारागार कार्यालयले असोज २० गतेभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेका थिए।
कारागार कार्यालय कञ्चनपुरका निमित्त कारागार प्रशासक रामदत्त जोशीका अनुसार तोकिएको समयसीमाभित्र नफर्किने कैदी तथा थुनुवामाथि कारागार ऐन २०७९ र प्रचलित कानुन अनुसार कानुनी कारबाही गरिनेछ।
उनले फरार कैदीलाई लुकाउने, सहयोग गर्ने वा आश्रय दिने व्यक्ति पनि कानुनी दायरामा पर्ने चेतावनी दिएका छन्। जोशीकाअनुसार यस्तो कार्यलाई राज्यविरुद्धको अपराध मानिने भएकाले कसैलाई पनि यस्तो जोखिमपूर्ण कार्य नगर्न आग्रह गरिएको छ।
प्रतिकृया दिनुहोस