काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका दाबेदारबीच ‘पब्लिक डिबेट’ अर्थात् सार्वजनिक बहसका लागि गरेको आह्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले अस्वीकार गर्नुभएको छ ।
आज बिहान ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् देशको नेतृत्व गर्न खोज्नेसँग ‘पब्लिक डिबेट’ को माग सकारात्मक रहेको बताउनुभएको थियो । साथै उहाँले आफू र आफ्नो पार्टी एमाले यसका लागि तयार रहेको उल्लेख गर्नुभएको छ ।
ओलीको फेसबुक स्ट्याटसमै प्रतिक्रिया जनाउँदै बालेनले तत्काल सार्वजनिक बहसमा सहभागी नहुने सङ्केत गर्नुभएको छ । उहाँले गएको भदौ २३ र २४ गतेको आन्दोलनलाई जोडेर ‘अरू कुरा पछि गरौँला अहिले एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ’ उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्रीको दाबेदारका रूपमा दलहरुबाट अघि सारिएका एमाले अध्यक्ष ओली, कांग्रेसका सभापति गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बालेन शाहलगायतलाई ‘पब्लिक डिबेट’ गर्नुपर्ने माग अहिले सामाजिक सञ्जालमा चलेको छ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको सरगर्मी बढेका बेला प्रधानमन्त्रीका दाबेदारबीच एजेण्डाबारेमा सार्वजनिक बहसको विषय उठेको हो ।
प्रतिकृया दिनुहोस