धनगढीः जातीय तथा लैङ्गिक विभेद अन्त्य गरी सामाजिक न्याय सुनिश्चित गर्ने उद्देश्यसहित दलित महिलाको पहुँच अभिवृद्धिमा सञ्चार क्षेत्रको भूमिकाबारे धनगढीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
दलित महिला संघ (फेडो) कैलालीको आयोजनामा भएको कार्यक्रममा सञ्चारकर्मी, अधिकारकर्मी तथा विभिन्न सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा पेडो नेपाल कैलालीकी अध्यक्ष सविना सुनारको अध्यक्षता तथा विनोद घिमिरेको संयोजन रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष सविना सुनारले दलित तथा महिलाका मुद्दामा मिडियाले महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै आगामी दिनमा अझ सशक्त रूपमा आवाज उठ्ने विश्वास व्यक्त गरिन्। सुदूरपश्चिम प्रदेश पत्रकार महासंघका अध्यक्ष भरत शाह, प्रदेश सचिव शिवराज भट्ट, कैलाली अध्यक्ष श्रवण देउवा र पूर्व अध्यक्ष हिमाल जोशीलगायत वक्ताहरूले सामाजिक न्याय र दलित महिलाका अधिकारका पक्षमा सञ्चार माध्यमको निरन्तर सक्रियता आवश्यक रहेको बताए।
अन्तरक्रियामा प्रस्तुत तथ्याङ्कले दलित महिलामाथि हुने हिंसा अझै गम्भीर समस्याका रूपमा रहेको देखाएको छ। (फेडो) २०८१ को अध्ययनअनुसार नेपाल प्रहरीमा दर्ता भएका हिंसापीडितमध्ये ११.५४ प्रतिशत दलित महिला र १९.४४ प्रतिशत दलित बालिका रहेका छन्। राष्ट्रिय महिला आयोगमा अभिलेख भएका घटनामध्ये ११.३४ प्रतिशत दलित महिलासँग सम्बन्धित छन्। ओरेक नेपालका अनुसार हिंसापीडित महिलामध्ये २७ प्रतिशत दलित महिला रहेका छन् भने इन्सेकको अभिलेखमा २२.५८ प्रतिशत दलित महिला हिंसाको सिकार भएको उल्लेख छ।
वक्ताहरूले धेरै घटना अझै उजुरीमा नआएको भन्दै यस्ता विषयलाई मिडियाले प्राथमिकताका साथ उजागर गर्नुपर्नेमा जोड दिएका थिए। पूर्व अध्यक्ष कर्णबहादुर शाहले तथ्याङ्कसहित प्रस्तुति दिएका थिए। कार्यक्रम संयोजक विनोद घिमिरेले दलित समुदायका सवालमा राज्य अझ संवेदनशील बन्नुपर्ने आवश्यकता औंल्याए। उनले प्रिन्ट मिडियालाई विश्वसनीय माध्यमका रूपमा व्याख्या गर्दै सत्य तथ्य उजागर गर्न यसको भूमिका महत्वपूर्ण हुने बताए।
पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले पत्रकारिताको मूल उद्देश्य दबिएका आवाजलाई उठाउनु रहेको उल्लेख गर्दै दलित तथा महिलाका मुद्दामा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाए। प्रदेश सचिव शिवराज भट्टले पत्रकारितामा देखिएका चुनौतीबीच पनि यस्ता विषयमा सहकार्य जारी रहने बताए।
फेडोका प्रदेश अध्यक्ष अम्बिका ताम्राकारले दलित समुदाय अझै पनि पछाडि परेको उल्लेख गर्दै मिडियाले यस्ता पीडालाई बाहिर ल्याउन थप भूमिका खेल्नुपर्ने धारणा राखिन्। कार्यक्रमका सहभागीहरूले समाज, समुदाय र कानुनी संरचनाबीच समन्वय गर्दै दलित महिलाको पहुँच अभिवृद्धिका लागि सञ्चार क्षेत्रको सक्रियता अपरिहार्य रहेको निष्कर्ष निकाले।
प्रतिकृया दिनुहोस