काठमाण्डाै – पछिल्लो तीन महिनायता काठमाण्डाैका विभिन्न प्रहरी युनिटमा दैनिकजसो लुटपाटका घटनाको उजुरी दर्ता हुने क्रम बढ्न थालेको थियो । दैनिक दर्जनौँ लुटपाटका उजुरी आउन थालेपछि जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रहरी अधिकारीलाई चिन्तित बनायो ।
याे चुनौतीपूर्ण घटनालाई नियन्त्रणमा लिएर समाजमा अमनचयन कायम गराउन काठमाण्डाै प्रहरीले ‘अपरेशन स्न्याचिङ’ सञ्चालन गर्ने निर्णय गर्याे । त्यस क्रममा प्रहरीले विभिन्न शङ्कास्पद क्षेत्रमा ‘चेक प्वाइन्ट’ राखेर निगरानी बढायो । काठमाण्डाै र भक्तपुरका विभिन्न ठाउँमा लुटपाट आतङ्क मच्चाइरहेको समूहलाई प्रहरीले गएराति काठमाण्डाैको मूलपानीबाट गोली प्रहार गरी नियन्त्रणमा लियो । जिल्ला प्रहरी परिसर काठमाण्डाैले हिजाे पत्रकार सम्मेलन गरी लुटपाटमा संलग्न समूहका नाइके विनय तामाङसहित १० जनालाई बरामद भएका सामग्रीसहित सार्वजनिक गरेको छ ।
प्रहरीले काभ्रेपलाञ्चोकका २३ वर्षीय विनय, २० वर्षीय सलोन तामाङ, १८ वर्षीय राजीव भण्डारी र २९ वर्षीय पेमा तामाङ, सिन्धुलीका २४ वर्षीय आयन माझी र ३२ वर्षीय सविन माझी, मोरङका २३ वर्षीय मनिस रसाइली, रामेछापका २२ वर्षीय विशाल तामाङ, खोटाङका २८ वर्षीय विदुर विश्वकर्मा र सिन्धुपाल्चोकका २९ वर्षीय फुर्वा तामाङलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूका साथबाट बा १२ च ७७०१ नम्बरको कार र बागमती प्रदेश ०१०० ज ८७६६ नम्बरको ट्याक्सी तथा ६ थान मोटरसाइकल बरामद गरेको छ । उनीहरूलाई पक्राउ गर्न प्रहरीले बुधवार बेलुकी ६ बजेदेखि हिजाे बिहान ३ बजेसम्म ‘अप्रेशन’ चलाएको थियो ।
सीसीटीभी फुटेजका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको हो । जाँचका क्रममा प्रहरीमाथि नै जाइलाग्न खोजेपछि गोली प्रहार गरेर समूहलाई नियन्त्रणमा लिइएको प्रहरीले स्पष्ट पारेको छ । नवयुवा आन्दोलनपछि याे समूह सक्रिय भएको अनुसन्धानले देखाएको छ ।
तामाङको समूहले काठमाण्डाै र भक्तपुरका विभिन्न ठाउँमा मध्यरातका समयमा महिला तथा पुरुषबाट सुनका गरगहना र पैसा लुटपाट गर्ने अनुसन्धानबाट खुलेको प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो । उनीहरूले मध्यराति १२ बजेदेखि बिहान ४ बजेसम्म विभिन्न काममा हिँडिरहेको सर्वसाधारणलाई कुटपिट र लुटपाट गर्ने गरेका थिए ।
लुटपाटका लागि उनीहरू ३/३ जनाको समूह बनाएर मोटरसाइकलमा हिँड्ने गर्थे । विनय समूहका विभिन्न सदस्यले दिउँसोमा ट्याक्सी चलाउने, ‘रेकी’ गर्ने, राति ९ बजेतिर एकै ठाउँमा भेला भएर खाना खाने र राति १२ बजेदेखि बिहान ४ बजेसम्म लुटपाट गर्ने गरेका थिए । लुटपाट सकिएपछि उनीहरू फेरि ट्याक्सी र निजी कारमा चढेर नियमित दैनिकीमा फर्कने गरेका थिए ।
याे समूहका नाइके विनय नवयुवा आन्दोलनका क्रममा महाराजगञ्ज वृत्तको हिरासतबाट भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हिरासतबाट भागेपछि उनले आफ्नो नेतृत्वमा याे समूहलाई सक्रिय पारेका थिए । याे समूहले स्वयम्भूमा ७ तथा बूढानीलकण्ठ, बौद्ध, गौशालामा ३/३ र भक्तपुरको ठिमीमा १३ पटक लुटपाट गरेकाे प्रहरीले जनाएको छ ।
बुधवार राति याे समूह मूलपानी क्षेत्रमा लुटपाटका लागि निस्केको थियो । मूलपानी क्रिकेट मैदान नजिकै प्रहरीको ‘चेक प्वाइन्ट’ नरोकी प्रहरीमाथि नै जाइलाग्ने गरी अघि बढेपछि प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो ।
प्रहरीको गोली लागेको लुटेरा समूहका सदस्यको उपचार भइरहेको छ । लुटेरा समूहका कमान्डर रहेका आयन लुटपाटका क्रममा मोटरसाइकल चलाउने गरेको अनुसन्धानबाट खुलेको छ । विनय यसअघि २०७९ सालचोरी र २०८२ सालमा डाँका चोरीमा संलग्न रहेको थिए । आयनविरुद्ध भने २०७९ साल पुस २६ गते प्रहरी परिसर भक्तपुरमा डाँका चोरी मुद्दा चलेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
प्रहरी वरिष्ठ उपरीक्षक थापाका अनुसार लुटपाटमा संलग्न धेरैजसाेकाे पृष्ठभूमि अपराधिक रहेको बताउनुभयो । पेमा र सलोन भने दाजुभाइ रहेको उहाँले जानकारी दिनुभयो । प्रहरीबाट जोगिन याे समूहले मोटरसाइकलको नम्बर प्लेटमा हिलो छ्यापेर पहिचान नखुल्ने गरी प्रयोग गर्ने गरेको थियो ।
प्रतिकृया दिनुहोस