लम्कीमा अनौठो दृष्यः अघिअघि बालेन, पछिपछि हात हल्लाउँदै डुब्लिकेट

छिनोफानो   शुक्रबार १७, माघ २०८२ १२:४९

कैलाली । गत मंगलबार कैलालीको लम्कीमा ‘राजकीय सवारी’ को शैलीमा एकसाथ थुप्रै गाडीहरू हुइँकिएर आए । प्रतिनिधिसभा सदस्यमा उठेका एक बहुचर्चित उम्मेदवारलाई प्रहरीले अगुवा र पछुवा गाडीसहित स्कर्टिङ गरेर ल्याइरहेको थियो ।

उनी थिए काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह । बालेनको पर्खाइमा लम्कीबजारमा बाक्लै भिड जम्मा भइसकेको थियो । भिडले बालेनको गाडीलाई रोक्यो । बालेन-बालेन भन्दै नारा लाग्न थाल्यो ।

कैलाली-२ मा उठेका रास्वपाका बालेननिकट उम्मेदवार केपी खनाल भिडको अग्रपंतिमा थिए । उनी नजिकै आएपछि ड्राइभर छेउको सीटमा बसेका बालेनले गाडीको झ्याल उघारे । खनाललाई केही ईशारा गरे । अन्य समर्थक र सञ्चारकर्मीहरूसँग बोल्न भने रुचि देखाएनन् । खनालले समर्थकहरूलाई घण्टीघर (रास्वपा कार्यालय) मा जम्मा हुन भने । प्रहरीले भिड हटायो र बालेनको गाडी अघि बढ्यो ।

एक सञ्चारकर्मीले बालेनलाई ‘यहाँ आउँदा कस्तो लाग्यो ?’ भनेर सोधेका थिए । बालेनले केही नबोली राम्रो लागेको संकेतस्वरूप बुढी औंला देखाए ।

केही सेकेन्डमात्रै रोकिएर बालेनको गाडी हुइँकियो । तर, त्यसपछि अनौठो दृष्य देखियो ।

बालेन चढेको गाडीभन्दा ३-४ वटा गाडीपछाडि एउटा कारको रुफटपबाट आधा जिउ निकालेर बालेनजस्तै अर्का व्यक्ति देखा परे । उनी एउटा हातले घन्टी बजाउँदै समर्थहरूलाई हात हल्लाइरहेका थिए । अनुहारमा दारी, कालो टोपी र पहिरनले उनी बालेन होइनन् भनेर कसैले भन्न सक्दैनथे । भर्खर बालेनको गाडि अगाडि लागेको देखेका समर्थकहरू अर्का ‘बालेन’ हात हल्लाउँदै आएपछि अल्मलिए । यो दृष्य भिडिओमा समेत कैद भएको छ र अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

आखिर उनी को थिए त ? बालेनले नै उनलाई लगेका हुन् कि उनी आफूखुशी बालेनको पछि लागेका हुन् । यी जिज्ञासाहरू जनमानसमा छन् ।

बालेनको जस्तै भेषमा हिँडेका यी युवा हुन् कैलाली टीकापुरकै गोपाल कोइराला । उनको टीकापुरमा फेन्सी पसल छ । उनी आफूलाई बालेनको फ्यान भन्ने गर्छन् । बालेनकै जस्तो दारी-कपाल बनाएका छन् । बालेन रास्वपामा आएपछि आफूले पनि सदस्यता लिएको उनले बताए ।

नेपाल प्रेससँग कोइरालाले भने, ‘म पहिलेबाटै उहाँको फ्यान हो । त्यो दिन बालेनलाई प्रभावित पार्न उहाँकै हुलियामा हिँडेको हुँ । तर सबैले मलाई नै बालेन ठान्नु भएछ ।’

बालेनले आफूलाई परिचालित नगरेको उनले दाबी गरे । आफ्नै इच्छामा केही गाडी रिजर्भ गरेर त्यहाँ गएको पनि उनको दाबी छ । तर, बालेनलाई भेट्न भने नपाएको कोइरालाले बताए ।

‘म पहिले पनि बालेनको गेटअपमा हिँड्ने गर्थेँ । त्यो दिन मैले गाडी माथिबाट सामान्य ढङ्गले हात हल्लाएको हो । कुनै योजनाबद्ध थिएन,’ उनले भने ।

रास्वपाले भने अहिलेसम्म यस विषयमा कुनै जवाफ दिएको छैन । प्रदेश सभापति प्रकाश विष्टलाई नक्कली बालेनबारे प्रश्न गर्दा कुनै जानकारी नभएको बताए । उनी बालेनसँगै भ्रमणमा छन् ।

रास्वपाका एक स्थानीय नेताले भने नाम नखोल्ने शर्तमा बालेनले नै डुब्लिकेट लिएर हिँडेको आशंका व्यक्त गरे ।

उनले नेपाल प्रेससँग भने, ‘बालेनको जानकारीबिना उहाँको पछिपछि उहाँकै भेषमा गाडीबाट हात हल्लाउँदै हिँड्ने हिम्मत कसैले गर्दैन । जबकि प्रहरीको गाडी पनि सँगसँगै थियो । थाहा नपाउने कुरै हुँदैन ।’

प्रहरीले भने यस विषयमा समाचारमा आएपछि मात्र थाहा पाएको बताएको छ । स्कर्टिङको कमाण्ड लिएका इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक कविराज रोकायाले आफूहरू बालेनको सुरक्षामा केन्द्रित रहेकाले पछिपछि आएका व्यक्तिबारे ध्यान नदिएको बताए ।

उनले भने, ‘हाम्रो गाडी अगाडि थियो । रुट क्लीयर गर्नेमा मात्रै केन्द्रित भयौँ । पछि बालेनजस्तै अर्को मान्छे आएको भन्ने सुनिएको छ । यो विषयमा के कसो हो भनेर बुझ्ने कुरा भएको छ । जिल्ला प्रहरीले के भन्छ त्यही गर्ने हो ।’

कतिपयले बालेनलाई प्रहरीले दिइएको अगूवा पछुवाको सुविधाको विषयमा पनि प्रश्न उठाएका छन् । सामान्यतया प्रहरीले यस्तो अगूवा पछुवा सुविधा उच्च राजकीय पदमा रहेकाहरूलाई मात्र उपलब्ध गराउँछ । बालेन अहिले कुनै पनि सरकारी ओहदामा छैनन् । उनी चुनावी उम्मेदवार मात्र हुन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी सुरक्षा संवेदनशीलतालाई हेरेर प्रहरीले स्कर्टिङ गरेको बताए ।

उनले नेपाल प्रेससँग भने, ‘उहाँलाई प्रोटोकलका आधारमा नभएर भिडबाट जोगाउन कडा सुरक्षा दिइएको हो ।’

सदूरपश्चिम यात्रामा बालेन- झुलुक्क अनुहार देखाउँदै-हिँड्दै

बालेन गत मंगलबारदेखि सुदूरपश्चिम प्रदेशको भ्रमणमा छन् । झापा ५ बाट उम्मेदवार बनेका उनी सुदूरपूर्वको भ्रमणपछि सुदूरपश्चिम मोडिएका हुन् ।

सुदूरपश्चिमका ९ जिल्ला उनले तीन दिनमा भ्याए । यहाँका १६ निर्वाचन क्षेत्रमै १५ निर्वाचन क्षेत्र हिजै भ्याइसकेका थिए । कैलाली र कञ्चनपुरमा ८ निर्वाचन क्षेत्र छन् । बालेनले एकै दिन सबै क्षेत्रमा पुगेर ती क्षेत्रका उम्मेदवारहरूसँगै घण्टी बजाए । बुधबार १० नबज्दै उनी डडेल्धुराको तुफान डाँडा पुगेका थिए ।

जिल्लाको पार्टी कार्यालयमा कार्यकर्ता र शुभेच्छुकसँग भेटघाट गरेर उनी बैतडीको पाटनमा रहेको पार्टी सम्पर्क कार्यालयमा पुगे । बैतडी सकेर दार्चुलाको गोकुलेमा रहेको पार्टी कार्यालयमा पुगेका उनी बिहीबारको राती बझाङ गए । पहिलो दिन दुई जिल्लाको ८ निर्वाचन क्षेत्रमा पुगेका बालेन दोस्रो दिन ४ जिल्लाका ४ निर्वाचन क्षेत्रमा पुगे ।

बिहीबार बिहानै बझाङ चैनपुर बजारमा पुगेर दिउसो बाजुराको मार्तडी गए । मार्तडीबाट फर्किएर अछामको साँफेबगर आए । केहीबेर त्यहाँ अडिएर घण्टी बजाएपछि डोटीतर्फ लागे ।

आज उनी आफ्ना स्वकीय सचिव भूपदेव शाह उम्मेदवार रहेको अछाम-२ को मङ्गलसेन लगायतका तीन क्षेत्रमा बालेन पुग्ने कार्यक्रम रहेको प्रदेश सभापति प्रकाश विष्टले जानकारी दिए ।

‘आज मङ्गलसेन, कमलबजार विनायक हुँदै कर्णाली जाने कार्यक्रम छ,’ उनले भने, ‘हिजोसम्म हामी सुदूरपश्चिमका सबै जिल्ला पुगिसकेका छौँ ।’

बालेन तीन दिनमा सबै जिल्लामा पुगे पनि त्यहाँ उनले कतै पनि भाषण गरेनन् । दोहोरो संवाद नगरी र छोटो समयमै स्थान परिवर्तन गर्दै सुदूरपश्चिम घुमेका बालेन आज कर्णाली लाग्ने छन् । प्रत्येक निर्वाचन क्षेत्रमा उनले औसतमा १५ मिनेट समय दिएका थिए । केही क्षेत्रमा त उनी त्यति पनि रोकिएनन् । केही क्षेत्रमा रोकिने कार्यक्रम हुँदा पनि गाडीमै हुइँकिए ।

सुदूरपश्चिम प्रदेश प्रवेशको पहिलो दिन नै केपी खनालको निर्वाचन क्षेत्र रहेको बर्दगोरियाको बौनियामा स्वागत तथा अभिनन्दन कार्यक्रम रहेको थियो। तर, बालेन त्यहाँ रोकिएनन् । त्यहाँ बालेनलाई हेर्न पुगेकाहरू निराश भएर फर्किएका थिए । अन्य केही क्षेत्रमा पनि यस्तै भएको थियो ।

बालेन रोकिएको ठाउँमा पनि कुनै चुनावी कार्यक्रम भएन । बालेन वा उम्मेदवारले सम्बोधन गरेनन् । एजेन्डा भनेनन् । कार्यालय अवलोकन गर्ने, उम्मेदवारसँगै घण्टी बजाउने र कार्यकर्ताहरूलाई हात हल्लाउने बालेनको शैली छ । कतिपय कार्यकर्ता अनुहारमात्र देखाउन आएको भन्दै रुष्ट बनेका छन् ।

रास्वपाले भावी प्रधानमन्त्रीको लागि अघि सारेको व्यक्तिले चुनावी प्रचारमा आउँदा पनि किन एक शब्द बोलेनन् ? प्रदेश सभा विष्ट आचारसंहिताको कारणले कुनै चुनावी कार्यक्रम नगरिएको दाबी गर्छन् ।

‘अहिले आचारसंहिता लागू छ । ठूला कार्यक्रम, चुनावी र्‍याली र तडकभडक गर्न पाइँदैन । त्यसैले उहाँ (बालेन) ले सम्बोधन नगर्नुभएको हो,’ उनले भने, ‘यसपटक उम्मेदवारलाई भेट्ने र हौसला दिने गरी उहाँ सुदूरपश्चिम आउनुभएको हो ।’

बालेनले ९ जिल्ला भ्रमण गर्दा चुनावी भाषण नगरे पनि दुई स्टाटसबाट सुदूरपश्चिमलाई सम्बोधन गरेका थिए ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा पुगेर उनले ‘सुदूर अब दूर नाइँ, झिक्कै झिक्कै माया तम्लाई’ भनेर फेसबुकमा स्टाटस लेखे । बझाङबाट बाजुरा यात्रा गर्ने क्रममा बिहीबार अर्को स्टाटस लेखे, ‘बझाङबाटी बाजुरा जान लाग्या छु, बडिमालिका माताले सबैकी आशिष् दिऊन् ।’ nepalpress बाट साभार

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु