संयुक्त राष्ट्रसंघले सदस्य देशहरूले तोकेको योगदान नतिर्दा संगठन छिट्टै आर्थिक संकटको अवस्थामा पुग्न सक्ने चेतावनी दिएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले १ सय ९३ वटै सदस्य देशलाई पठाएको पत्रमा आउँदो जुलाईसम्म संगठनको पैसा सकिन सक्ने गम्भीर अवस्था आएको बताउनुभएको छ ।
उहाँले सदस्य राष्ट्रहरूले आफ्नो अनिवार्य योगदान समयमै नतिरे संगठनका कार्यक्रमहरू सञ्चालनमै जोखिम हुने बताउनुभएको बीबीसीले जनाएको छ । सबैभन्दा ठूलो योगदानकर्ता अमेरिकाले राष्ट्रसंघको नियमित बजेट र शान्ति स्थापना बजेटमा योगदान दिन अस्वीकार गरेपछि संकट झन् गहिरिएको हो ।
अमेरिकाले यसलाई करदाताको पैसाको दुरुपयोग भन्दै धेरै यूएन एजेन्सीहरूबाट बाहिरिने निर्णय गरेको छ । अन्य केही देशहरूले पनि बक्यौता तिर्न बाँकी राखेका छन् वा तिर्न अस्वीकार गरिरहेका छन् । यद्यपि राष्ट्र संघ महासभाले सन् २०२५ को अन्त्यतिर वित्तीय प्रणालीमा आंशिक सुधार स्वीकृत गरेको थियो, तर संगठन अझै पनि गहिरो नगद संकटमा रहेको छ ।
प्रतिकृया दिनुहोस