टीकापुर । जनयुद्ध दिवसको अवसरमा टीकापुरमा तीन वटा कार्यक्रम गरिने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) टीकापुर नगर समितिले ३० औं जनयुद्ध दिवसको अवसर पारेर विभिन्न तीन कार्यक्रम गर्ने भएको हो ।
मंगलबार पत्रकार सम्मेलन गर्दै फागुन १ गते जनयुद्ध दिवसका दिन रक्तदान कार्यक्रम, शहिद तथा बेपत्ता परिवारलाई सम्मान र दिप प्रज्वलन कार्यक्रम गरिने नगर समितिका अध्यक्ष धनसिंह साउदले जानकारी दिए । टीकापुरमा अहिलेसम्म ३६ जना शहिद तथा बेपत्ता परिवारको तथ्यांक रहेको बताउदै उनले जनयुद्ध दिवसमा उनीहरुलाई सम्झदै सम्मान गरिने बताए । बाहिरबाट बसाईसराई गरेर आउनेहरूको कागज प्राप्त भइरहेकाले यो तथ्यांक अझै बढ्न सक्ने अनुमान गरिएको अध्यक्ष साउथले जानकारी दिए ।
अध्यक्ष साउदले हस्ताक्षर गरेर जारी गरिएको विज्ञप्तिमा नेपालको इतिहासमा जनयुद्धको भुमिका दुर्गामी महत्वको रहेको उल्लेख छ ।
'जनयुद्धको जगमा र जनआन्दोलनको बलमा नेपालमा सदियौंदेखि शासन गर्दै आएको राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको तथ्य हामीसम्म सबैको सामु प्रष्ट छ। नेपालको इतिहासमा जनयुद्धको भूमिका दुर्गामी महत्वको थियो र अहिले पनि छ,' विज्ञप्तिमा भनिएको छ ।
जनयुद्धमा लाखौं जनतालाई गरिएका प्रतिबद्धता, जनयुद्धका मुद्दालाई वास्तविक जनताको तहसम्म जनताले अनुभूत गर्ने गरी काम गर्ने जिम्मेवारी माओवादीको काँधमा आएको दाबी गर्दै अहिले जे जति उपलब्धि भएका छन् त्यसमा माओवादी जनयुद्धको योगदान भएको कुरामा दुई मत नरहेको बताइएको विज्ञप्तिमार्फत अध्यक्ष साउदले बताएका छन् । उनले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता, शुभचिन्तक र आम जनसमुदायलाई एकताबद्ध भएर सबै खाले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्दै सुशासन, सामाजिक न्याय, समृद्धिसहित समाजवादका लागि अगाडी बढ्न अपिल समेत गरेका छन् ।
पत्रकार सम्मेलनमार्फत जनयुद्ध दिवसको शुभकामना व्यक्त गर्दै अध्यक्ष साउदले जनयुद्ध दिवसको अवसरमा गरिने कार्यक्रममा सबैलाई उपस्थित हुन र यसलाई पर्वका रुपमा भव्यताका साथ मनाउनसमेत आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहोस