सुदूरपश्चिममा एमालेभित्र एकता भए १६ सिट जितिन्छ, नभए शून्य : सचिव भट्ट

छिनोफानो   बुधबार २९, जेठ २०८२ ०४:२२

कैलाली । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीभित्र एकता कायम भए सुदूरपश्चिम प्रदेशका सबै १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जित सम्भव हुने बताएका छन् ।

तर, एकता नहुँदा हाल प्राप्त दुई सिट समेत गुमाएर पार्टी शून्य सिटमा झर्न सक्ने चेतावनी पनि उनले दिएका छन् ।

नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै सचिव भट्टले पार्टीमाथि आन्तरिक र बाह्य दुवै कोणबाट आक्रमण भइरहेको बताए। यस्तो अवस्थामा जनवर्गीय सङ्गठनहरू सक्रिय भएर अग्रपंक्तिमा उभिनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

उनले भने, ‘पार्टी सङ्कटमा पर्दा हामी सबै अग्रपंक्तिमा उभिनुपर्छ। एमाले अहिले पनि बलियो बन्दै गएको छ, त्यसैले पार्टीमाथि घेराबन्दी भइरहेको छ । पार्टीका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्रीमाथि समेत आन्तरिक र बाह्य रूपमा दबाब दिइएको छ, त्यसको प्रतिकार गर्न हामी सबै एकजुट हुनुपर्छ ।’

सचिव भट्टले पार्टी अध्यक्षको आत्मबल र सक्रियता सबैका लागि प्रेरणादायी भएको उल्लेख गर्दै भने, ‘उहाँ देश निर्माणमा समर्पित हुनुहुन्छ । दिनको २० घण्टा काम गर्नुहुन्छ। यस्तो नेतृत्वबाट खेलाडीहरूले पनि प्रेरणा लिनुपर्छ ।’

समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई आत्मनिर्भर भएर अघि बढाउनु पर्ने भन्दै उनले सबैलाई पार्टीभित्र अनुशासन र एकताको भावना आत्मसात् गर्न आह्वान गरे ।

कार्यक्रममा नेपाल खेलकुद महासङ्घका केन्द्रीय उपाध्यक्ष दीपेन्द्र दाहालले पार्टीमा सङ्कट उत्पन्न भएका बेला महासङ्घको भूमिका महत्त्वपूर्ण हुने बताउँदै आगामी निर्वाचनमा एमालेलाई सशक्त बनाउन महासङ्घले सक्दो योगदान दिने प्रतिबद्धता व्यक्त गरे। उनले दोस्रो अधिवेशनले योग्य र सक्षम नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरे ।

नेकपा एमाले पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरपश्चिममा खेलकुद र खेलाडीहरूको ठुलो सम्भावना रहेको बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु