धनगढी । नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा तीनजना आकांक्षी देखिएका छन् । बैतडीकी माया भट्ट, कञ्चनपुरका तारा लामा तामाङ र कैलालीका दीर्घ सोडारीले एकिकृत समाजवादीको संसदीय दलको नेतामा बन्ने इच्छा देखाएका हुन् ।
तीनमध्ये कञ्चनपुरका तामाङ र कैलालीका सोडारीको चर्चा बढी छ । तामाङ एमाले छाडेर नेकपा एसमा आउँदा दलको नेता बनाउने सहमति भएको चर्चा चलेको थियो । कैलालीका सोडारीले सुदूरपश्चिम प्रदेशमा नेकपा एसलाई ठूलो दल बनाउन भूमिका खेलेका कारण आफूले नै दलको नेता बन्न पाउनुपर्ने दाबी गर्दै आएका छन् । माया भट्ट समाजवादीकी केन्द्रीय सदस्य हुन् ।
प्रदेशसभामा नेकपा एसको पहिलो बैठक सोमबार बस्दैछ । दल गठनपछि बस्ने पहिलो बैठकका दलको नेतासमेत चयन गर्ने सम्भावना रहेको प्रदेश सभा सदस्य तामाङले बताए ।
उनले बैठकको छलफलको एजेन्डा भने तय नभइसकेको बताए । उनले पार्टीलाई अझै बलियो बनाउन आगामी रणनीति तथा समसामयिक विषयमा बैठकमा छलफल हुने बताए । ‘बैठकमा संसदीय दलको नेताका विषयमा पनि कुरा उठ्न सक्दछ,’ लामाले भने, ‘त्यस विषयमा हामी छलफल गर्नेछौं, सहमतिकै आधारमा नेता चयन गरिनेछ ।
प्रतिकृया दिनुहोस